प्रहरीले छेकेपछि एक हजार चार सय सवारी साधन रोकिए

प्रहरीले छेकेपछि एक हजार चार सय सवारी साधन रोकिए


रातको समयमा सवारी आवागमन अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राती एक हजार ४०० सवारी साधन रोकिएका छन् ।नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

पन्तका अनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको थियो । ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो ।

त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो, जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन थिए । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो भने काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको थियो ।

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेपछि गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकिएको हो ।

दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिमको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको बताइएको छ । तीनवटा समूहले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ ।