देउवालाई सफल प्रधानमन्त्री बन्ने अवसर

देउवालाई सफल प्रधानमन्त्री बन्ने अवसर


– सुमन बराल

पछिल्ला केही हप्ता तीन घटनाले नेपालको छापा र अनलाइन मिडिया, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा पनि धेरै स्थान पाएको छ । पहिलो, गोर्खाल्याण्डको सन्दर्भमा नेपाली मुलकी एक भारतीय नागरिकले दिएको अन्तर्वार्ताको पक्ष र विपक्षमा सामजिक सञ्जाल नै लज्जित हुने गरी प्रदुषित गरियो । अतिरन्जित गरेर भिडियो बनाउँदै जवाफ दिने भद्दा प्रतिस्पर्धा नै चल्यो । उक्त घटनाक्रममा भिडियो नबनाए वा कुनै पनि प्रतिक्रिया नजनाए नेपाली नै नभइने हो कि भन्ने खालको झस्का पस्ने गरी कसैलाई चर्चामा ल्याउन भूमिका खेलेर समय बर्बाद बनाइयो । उक्त जोश या उर्जा नेपालको हितमा केन्द्रित कुनै विषयको बहसमा लगाइएको भए फलदायी हुने थियो ।

दोस्रो, ०७४ असार १८ गते आइतबार साझा सवालमा प्रसारित प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्वार्ताको चर्चा मिडिया, सामाजिक सञ्जालदेखि चिया पसलमा अझै सेलाएको छैन । ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ भनेजस्तै विवाद सेलाउन नपाउँदै देउवाबाट बाढीपीडितमाझ बेग्लै प्रयोजनको ज्ञापनपत्र पढ्ने अर्को भुल भयो । तेस्रो, संसारकै एक गरिब देशको राष्ट्रपतिलाई करोडौँ मुल्य पर्ने बुलेटपु्रफ गाडी किन्ने प्रसंगको पक्ष र विपक्षमा बहस जारी छ । देशको आर्थिक हैसियतअनुसारको सेवासुविधा लिएर गरिव जनताले तिरेको करको दुरुपयोग गरिनु हुँदैन र सुरक्षाका लागि महँगा बुलेट वा बमपु्रफ गाडी पनि खरिद गरिनुपर्छ भन्ने दुई धारमा जनमत बाँडिएको छ ।

मुलतः देउवाको अन्तर्वार्ताबारे तीन थरिका विचारहरू देखिएका छन् । पहिलो, देउवाले प्रधानमन्त्रीको गरिमाबमोजिमको अलिकति पनि सिस्टता, शालिनता, जिम्मेवारीपन नदेखाएको भन्दै अधिकांशले उनको खिल्ली उडाएको पाइएको छ । पञ्चायतकालमा प्रजातन्त्रका लागि संघर्ष गर्दा हिरासतमा रहेका बेला प्रहरीले जिब्रोमा करेन्ट लगाएपछि बोली लट्पटिने भएको तथ्यलाई समेत नजरअन्दाज गर्दै उनको बोलीको मजाक उडाउनेहरूले सबै भन्दा धेरै खेदो खनेको पाइएको छ । देउवा अलिक संयमित भएर प्रस्तुत हुनुपर्ने थियो भन्ने कुरामा दुईमत छैन तर लटपटिने बोलीलाई लिएर अपाङ्गता भएका मानिससँग तुलना गर्दै देउवा र अपाङ्गता भएका मानिसको पनि अपमान गर्दै खिल्ली उडाउनुचाहिँ दरिद्र मानसिकताको उपज हो ।

दोस्रो, जस्तालाई तेस्तै ढिँडालाई निस्तै भन्ने उखानजस्तै प्रश्नकर्ताको हैसियतअनुसारको जबाफ फर्काए, सिधासाधा मानिसले बोल्ने शैली यस्तै हो लगायतका तर्क गर्दै कतिपयले देउवाको प्रस्तुतिको खुलेर बचाउ गरेका छन् । अझ केहीले त बिबिसी र साझा सवाल कार्यक्रमले नियतवश प्रधानमन्त्रीको अपमान गर्ने मिसन पत्रकारिता गरेको सम्मको आरोप लगाएका छन् । प्रत्यक्ष प्रसारण नभएकाले साझा सवाल टिमले प्रधानमन्त्रीको गरिमालाई ध्यानमा राखेर केही अंश हटाउनेबारे देउवासँग परामर्श गरेको भए वा आफै सम्पादन गरेको भए पनि राम्रो हुने थियो तर नियतवश प्रधानमन्त्रीलाई बदनाम गराउने प्रपञ्च रचिएको भन्ने आरोपमा भने सत्यता छैन । किनकि देउवाले जस्तोसुकै अपमानजनक वा आक्रामक प्रश्नको पनि हाँसीहाँसी जवाफ दिन सक्ने थिए, सक्नै पथ्र्यो ।

नेपालमा मात्र नभई विश्वभरि शक्तिराष्ट्रहरूले आफ्नो आर्थिक, राजनैतिक स्वार्थ पुरा गर्न मिडिया, एनजीओ, आइएनजीओ, मानवअधिकार, प्रेस स्वतन्त्रतालगायतका नरम शक्ति प्रयोग गर्ने गरेको तथ्य घामझै छर्लङ्ग भएको विषय हो । उनीहरू साम, दाम, दण्ड, भेद प्रयोग गरेर अविकसित र विकासशील राष्ट्रहरूको प्रगतिलाई रोक्न प्रयासरत हुन्छन् । नेपालमा केही ठुला मिडियालाई शक्तिकेन्द्रहरूले प्रयोग गरिरहेका छन् भन्ने कुरा उनीहरूले सम्प्रेषण गर्ने सामाग्रीहरूबाट प्रष्ट हुन्छ । नेपाली लगानीबाट सञ्चालित धेरै मिडियाहरू शंकाको घेरामा रहेका बेला कुनै विदेशी लगानीमा रहेको मिडियाले नेपालको बदनाम गराउने प्रयास नगर्लान् भन्न सकिँदैन तर प्रधानमन्त्रीसँगको साझा सवाल भने कुनै डिजाइन नभई प्रधानमन्त्रीको नितान्त कमजोरी हो । साझासवाल टिमले नै प्रश्नकर्तालाई अपमानजनक प्रश्न सोध्न लगाएको भन्ने आरोपलाई सत्य मान्ने हो भने पनि देउवालाई जबर्जस्ती गैरजिम्मेवार भएर प्रस्तुत हुन दबाब दिइएको पक्कै पनि थिएन । तसर्थ, आगामी दिनमा देउवाले पुर्वतयारीका साथै अत्यन्त संयमता अपनाउन आवश्यक छ ।

तेस्रो, देउवाको प्रस्तुतीलाई कुतर्क गर्दै समर्थन गर्ने अनि उनको भद्दा मजाक उडाउने दुवै प्रवृत्ति गलत भन्दै कतिपयले देशको स्थिति र प्रधानमन्त्रीको गरिमा झन्झन् दर्दनाक हुँदै गएकोमा तथ्यप्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् । संसारमा कहिलेकाहीँ राजनितिज्ञ मात्र नभई अत्यन्त शालिन भनिएका मानिस पनि चुकेका प्रसस्त उदाहरण छन् । प्रधानमन्त्रीको गरिमालाई नसुहाउने गरी देउवा प्रस्तुत भएकै हुन् तर नेपाली जनतालाई सुनौलो भबिष्यतर्फ देश अघि बढिरहेको छ भन्ने आश्वस्त पार्न नसक्नु, देशलाई निकास र विकास दिन ठोस योजना केही पनि नभएको जसरी प्रस्तुत हुनु अनि विगतका तीन कार्यकालमा आफुले जनताले गर्व गर्नलायक गरेका काम बताएर चौथो कार्यकालका थप योजना बताउन नसक्नु बढी चिन्ताजनक छ ।

प्रचण्डले दोस्रो कार्यकालमा केही राम्रा काम गरेर आफ्नो गुमेको साख अलिकति फिर्ता गर्न सफल भए । अब देउवाले पनि गरिबी, बेथिति, भ्रष्टचारको पर्यायवाची बन्दै गएको नेपाललाई सही दिशामा ल्याउने इमान्दार प्रयास गरेर सक्षम प्रधानमन्त्री बन्न सक्ने सम्भवाना छ । अहिले मंगल ग्रहमा जान रकेट अनि आणविक हतियार बनाउन आवश्यक पनि छैन तर इमान्दारीता भएको खण्डमा २४ घण्टाभित्रैमा देश र जनताको हितमा धेरै काम सहजै गर्न सकिन्छ ।

कुनै पनि देशले जनताको हैसियतअनुसारको नेता पाउँछन भनिन्छ । हालसालै भएको स्थानीय निकायको चुनावमा पनि धेरै ठाउँमा पैसावाला, वर्तमान वा भुतपुर्व पेसेवर गुण्डा, खराब ब्यवसायी, दलाल र ठेकेदारहरू पनि जनताबाट नै निर्वाचित भएका छन् । इमान्दार भनिएका धेरैको जमानत जफत भयो । दुधको साक्षी बिरालो भनेजस्तै खराबहरूलाई जिताएपछि उनीहरू देश र जनताको हितमा नभई व्यक्तिगत र दलीय स्वार्थमा लिप्त हुन्छन् । के नेपाली जनताले दशकौँसम्म निकास र विकास दिन नसकेका प्रमाणित असफल नेताहरूलाई चुनाबमा विवेक प्रयोग गरेर हराउन सक्दैनन् ? नेपाली जनताले इमान्दार र सक्षम नेतालाई नेतृत्व तहमा पु¥याउन सक्छन् वा सक्दैनन् अथवा कसरी जनताको मनोविज्ञान परिवर्तन गर्ने भन्ने विषयमा वैचारिक मन्थन गर्न आवश्यक देखिएको छ ।

कतिपयले नेपालमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था भएमा सक्षम मानिसको हातमा नेतृत्व पुग्ने कुरा गरेका छन्, जुन पुर्ण सत्य भने होइन । पक्कै पनि सत्ता र पैसाका लागि जे पनि गर्न तयार देखिँदै आएका सांसदहरूले चुनेको प्रधानमन्त्री भन्दा जनताले सिधै जिताएको कार्यकारी प्रमुख इमान्दार हुने बढी सम्भवाना हुन्छ । तर, संसारमा जनताबाट खराब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निर्वाचित भएका पनि प्रसस्त उदाहरण छन् । तसर्थ जुनसुकै व्यवस्थामा पनि जनताले भ्रष्टचारी र अक्षम नभई सक्षम र इमान्दार नेतालाई चुन्ने कर्तब्य पूरा गर्नैपर्छ ।

प्रचण्डले दोस्रो कार्यकालमा केही राम्रा काम गरेर आफ्नो गुमेको साख अलिकति फिर्ता गर्न सफल भए । अब देउवाले पनि गरिबी, बेथिति, भ्रष्टचारको पर्यायवाची बन्दै गएको नेपाललाई सही दिशामा ल्याउने इमान्दार प्रयास गरेर सक्षम प्रधानमन्त्री बन्न सक्ने सम्भवाना छ । अहिले मंगल ग्रहमा जान रकेट अनि आणविक हतियार बनाउन आवश्यक पनि छैन तर इमान्दारीता भएको खण्डमा २४ घण्टाभित्रैमा देश र जनताको हितमा धेरै काम सहजै गर्न सकिन्छ । सरकारी कार्यलयमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अनिवार्य सिसिटिभि जडान गर्न लगाउने, जनताले तिरेको करबाट तलब सुविधा पाउने दलका पुर्णकालीन नेता एबं कार्यकर्तालाई सरकारी जागीरबाट बर्खास्त गर्ने, खराब म्यानपावर र कन्सल्टेन्सीलाई हदैसम्म दण्डित गरेर ५०औँ लाख नेपालीलाई ठगिनबाट जोगाउने, आयबमोजिम सबैबाट कर लिएर सबै नागरिकको स्वास्थ्यसेवाको ग्यारेन्टी गर्ने, हरेक क्षेत्रमा बढिरहेको दलीयकरण अन्त्य गर्नेलगायतका कुनै पनि काम गरेर इतिहासकै सफल प्रधानमन्त्री बन्न सक्छन् ।

सक्षम प्रधानमन्त्रीले अनेकन चुनौतीलाइै चिरेर प्रतिफल दिन सक्नैपर्छ । अन्यथा धेरैपटक प्रधानमन्त्री बनेर गिनिज बुकमा नाम लेखाउन सकिएला तर देश र जनताले केही पनि पाउने छैनन् । विकसित देशको तुलनामा नेपाल कम्तीमा १०० वर्षपछि घिस्रिरहेकाले हामीलाई हिँड्ने वा कुँद्ने मात्र छुट छैन । साथै जनताको निराशालाई विभिन्न देशी विदेशी शक्तिकेन्द्रहरूले नेपालमा नियन्त्रित अस्थिरता कायम राख्ने कडीको रुपमा प्रयोग गर्ने छन्, गरिरहेका छन् । तसर्थ विकास र समृद्धिका लागि अब उठ्नैपर्छ तर सक्षम पाइलटको अभाव देखिँदै आएको छ । देउवाले विषबिनाको सर्प र इखबिनाको मान्छे काम लाग्दैन भन्ने उखानबाट पाठ सिकेर आफुलाई अब्बल पाइलटका रुपमा रुपान्तरण गर्नुपर्छ । अब पनि असफल हुँदा नेपाल नै असफल हुने खतरा भएकाले देउवालाई सफल कार्यकालको शुभकामना ।