‘प्रजातन्त्र स्थापनामा भट्टराईको योगदान अतुलनीय’

‘प्रजातन्त्र स्थापनामा भट्टराईको योगदान अतुलनीय’


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बहुदलीय प्रजातन्त्र स्थापनामा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

‘संसदीय अध्ययन तथा विकास संस्थापना’ले मंगलबार राजधानीमा आयोजना गरेको ‘कृष्णप्रसाद भट्टराई प्रवचनमाला’ कार्यक्रममा उहाँले प्रजातान्त्रिक आन्दोलनदेखि सत्याग्रहसम्ममा स्व. भट्टराईको नेतृत्व सदैव सफल एवम् प्रेरणादायी रहेको चर्चा गर्नुभयो ।

आजीवन प्रजातन्त्रको लडाईं लडेका पूर्व प्रधानमन्त्री भट्टराईको बारेमा अझै धेरै कुरा खोज अनुसन्धान गर्न बाँकी रहेको धारणा राख्दै प्रधानमन्त्री देउवाले त्यस सम्बन्धमा आयोजक संस्थालाई आवश्यक कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थापनाका अध्यक्ष एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाले मुलुक र जनताका हितमा समर्पित नेतालाई सम्झने परम्परा बसाल्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै स्व. भट्टराईले राजनीति र नैतिकतालाई संँगसँगै लगेर उदाहरणीय काम गरेको स्मरण गर्नुभयो ।

यसैगरी, पूर्वमन्त्री योगप्रसाद उपाध्याय, संस्थापनाका उपाध्यक्ष एवम् पूर्वमन्त्री भक्तबहादुर बलायर, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले स्व. भट्टराई एक नैतिक र आदर्शवान नेता भएको विचार व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले दिनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।