राष्ट्रपति रनिङ सिल्ड मध्यमाञ्चललाई

राष्ट्रपति रनिङ सिल्ड मध्यमाञ्चललाई


डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि जितेको छ । ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अङ्क जोड्दै समग्रमा टिम च्याम्पियनको उपाधि रक्षा गरेको हो । उक्त तीन खेलबाहेक कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अङ्क टिम च्याम्पियनमा गणना गरिँदैन । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल २ सय ६४ अङ्कका साथ दोस्रो भयो । पश्चिमाञ्चलले एथलेटिक्समा १ सय ३८, कबड्डीमा ५६ र भलिबलमा ७० अङ्क प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको मध्यपश्चिमाञ्चलले एथलेटिक्समा १ सय ७३, कबड्डीमा १४ र भलिबलमा २८ गरी कुल २ सय १५ अङ्क बटुल्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

समापनका अवसरमा राजधानीमै गत वर्ष भएको उक्त प्रतियोगिताको आठौँ संस्करणका कीर्तिमानधारीलाई नगदबाट पुरस्कृत गरिएको थियो । त्यो वर्ष मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमाञ्चलकी मञ्जु रावतले छात्रा १ हजार ५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक विकले छात्र सटपुट तथा पश्चिमाञ्चलकी विपना परियारले छात्र ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए । दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपैयाँ प्राप्त गरेका थिए । बाँकीले जनही १० हजार नगद प्राप्त गरे ।

विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । निर्वाचन क्षेत्र, जिल्ला र क्षेत्रीय छनोट पूरा गर्दै आयोजना गरिएको यो केन्द्रीय प्रतियोगितामा समावेश सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १० खेलाडी सहभागी थिए ।

छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । निर्धारित दूरी ५०ः२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भएका हुन् । प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२ः८ सेकेन्डको कीर्तिमान भङ्ग गरेका हुन् । २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो ।