राजदूत बन्ने सुन्दास, सम्मान प्रचण्डको !

राजदूत बन्ने सुन्दास, सम्मान प्रचण्डको !


दलित अगुवा अधिकारकर्मी पदम सुन्दास राजदूत बनाइएका छन् । गत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूमध्ये सुन्दासलाई बहराइनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो । जात, वर्ग, लिङ्ग आदिका आधारमा कुनै विभेद नगरी राज्यका निकाय या जिम्मेवारीमा हरेक तहतप्काका योग्य नागरिकले अवसर पाउनु लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विशेषता हो भनिन्छ । यस्तोमा सुन्दास या अर्को कुनै व्यक्तिले कुनै ओहोदा पाएको सन्दर्भ सामान्य नै ठानिनुपर्ने हो ।

तर, परियार सेवा समाजले माओवादी कार्यकर्तासमेत रहेका पदम सुन्दासले राजदूतको ओहोदा हासिल गरेको प्रसङ्गलाई सामान्य विषयको रूपमा मूल्याङ्कन गरी चुप रहन चाहेन । राजदूत सुन्दासलाई सार्वजनिक कार्यक्रम आयोजना गरी सम्मान दर्शाउने रहर जाग्यो सो समाजलाई । यसका लागि गत शनिबार (असार २४)मा आयोजित सम्मान कार्यक्रममा चाहिँ विचित्र देखियो । राजदूत बन्ने सुन्दास तर भव्यताका साथ कार्यक्रमबीच सम्मान र अभिनन्दन गरिँदै थियो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ।

सो अवसरमा परियार सेवा समाजका अगुवाहरूले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलितलगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै आरती उतार्ने शैलीमा प्रचण्डको प्रशंसा गरे । यस भूमिकाका लागि आभार प्रकट गर्न अभिनन्दनको उपाय अपनाएको समाजका अगुवाहरूले प्रस्ट्याए ।

परियार समाजबाट अभिनन्दित हुनुभएका प्रचण्डले पनि मौका गुम्न दिनुभएन । ‘माओवादीले जनयुद्ध नलडेको र उत्पीडितको पक्षमा सङ्घर्ष नगरेको भए क्षमता भएर पनि उनीहरू राज्यको नीति–निर्माणको अधिकारबाट विमुख हुन्थे’ भन्दै उहाँले माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिबद्धताको प्रतिफल नै आज पदम सुन्दास राजदूत बन्नुभएको दाबी गर्नुभयो । माओवादीकै सङ्घर्षका कारण राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला नै विराजमान हुन पुगेकासमेत प्रचण्डको जिकिर थियो । जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाति, मधेसीलगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति कायम नै रहने उहाँको तर्क थियो ।

कार्यक्रममा उपस्थित एकजनाले ‘राजदूत हुने पदम, अभिनन्दनचाहिँ प्रचण्डको किन होला ?’ भन्ने जिज्ञासा राख्दा उनको जवाफ थियो– ‘गर्नेभन्दा गराउने ठूलो भन्ने नेपाली उखान छ नि, प्रचण्डले नबनाउनुभएको भए पदमदाइ राजदूत हुन सक्नुहुन्नथ्यो, त्यसैले अभिनन्दन पनि प्रचण्डकै गरियो ।’