काङ्ग्रेसको जितमा काङ्ग्रेसकै नेता दुःखी

काङ्ग्रेसको जितमा काङ्ग्रेसकै नेता दुःखी


नेपाली काङ्ग्रेस मात्र एउटा यस्तो राजनीतिक दल हो, जसको एउटा अभिन्न अङ्ग बन्न पुगेको छ– अन्तर्घात । काङ्ग्रेसको हरेक निर्वाचन क्षेत्रका उम्मेदवारले प्रत्येक निर्वाचनमा अन्तर्घातको सामना गर्दै आएका छन् । नेतास्तरका व्यक्तिदेखि कार्यकर्तासम्मले चुनावमा अन्तर्घात गरेको भन्ने चर्चा हुने गर्छ, तर त्यसको पुष्टि गर्न खोजिँदैन, पुष्टि भइहालेछ भने पनि अनुशासनको कारबाही गरिँदैन र कारबाही गरिएछ भने पनि त्यस्तो कारबाहीलाई अर्को चुनावसम्म निरन्तरता दिइँदैन । हालै सम्पन्न स्थानीय निर्वाचनका क्रममा पनि देशका सबैजसो ठाउँमा सानो या ठूलो स्केलको अन्तर्घात भएको चर्चा चल्यो, तर विराटनगर महानगरको निर्वाचनमा काङ्गे्रस केन्द्रीय सदस्य महेश आचार्यले भने अन्तर्घात गरेनन् ।

प्रमुख पदका उम्मेदवार बनाइएका थिए– भीम पराजुली, उनलाई अन्तर्घात गरेको आरोप लाग्नबाट जोगिनका निम्ति आचार्य अत्यन्त सचेत देखिए र चुनाव प्रचारका क्रममा एकाध स्थानमा देखा पनि परे । आचार्यले भीम पराजुलीलाई पराजित गराउन कुनै विशेष अग्रसरता लिएको पुष्टि हुने व्यवहार प्रस्तुत गरेनन् । तर, निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा भारी मतान्तरले काङ्गे्रस विजयी भएपछि आयोजित विजय ¥याली र सभामा भने महेश देखा परेनन् । विजय सभामा उनको अनुपस्थितिलाई लिएर अनेकौँ टीकाटिप्पणी भएका छन्, धेरैले निर्वाचन परिणामबाट महेश आचार्य दुःख भएको ठानेका छन् ।

प्राप्त जानकारीअनुसार आचार्य विराटनगर महानगर प्रमुखमा भीम पराजुलीलाई उम्मेदवार बनाउने कुराको विरुद्ध थिए । पराजुलीभन्दा विश्वनाथ रिजाललाई उम्मेदवार बनाइनु उपयुक्त हुन्छ भन्ने धारणा महेशको थियो र उनले रिजाललाई टिकट दिलाउन भित्रभित्रै अनेकौँ प्रयास पनि गरेका थिए । तर, नेताहरू डा. शेखर कोइराला र डा. मीनेन्द्र रिजाल पराजुलीलाई उम्मेदवार बनाइएको अवस्थामा मात्र काङ्ग्रेसको विजय सुनिश्चित हुनेमा विश्वस्त थिए र दुई नेताहरूकै अग्रसरता र प्रयासमा पराजुलीलाई उम्मेदवार बन्ने मौका प्राप्त भएको थियो । चुनाव प्रचारका क्रममा पनि डा. कोइराला र डा. रिजाल सर्वाधिक खटेका थिए । पराजुलीको विजय या पराजयलाई कोइराला र रिजालले आफ्नो राजनीतिक प्रतिष्ठासँग जोडेका थिए । उता महेश आचार्यनिकटका केही व्यक्ति भने शेखर कोइराला र मीनेन्द्र रिजाल जतिसुकै खटे पनि पराजुलीले चुनाव जित्न नसक्ने निष्कर्ष सुनाउने गर्दथे । आखिर डा. शेखर र डा. रिजालले पराजुली नै उपयुक्त उम्मेदवार भएको पुष्टि गरेरै छोडेका छन् । महेश आचार्य भने पराजुलीको विजयबाट दुःखी बनेको भन्ने चर्चा विराटनगरमा चलेको छ ।

ज्ञातव्य छ, महेश आचार्यद्वारा मेयरको उम्मेदवारमा प्रस्तावित विश्वनाथ रिजाल नातामा डा. मीनेन्द्र रिजालका काका हुन् । उनले काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा अमृत अर्यालसँग मोरङ जिल्ला कार्यसमितिको सभापतिमा प्रतिस्पर्धा गर्दा जम्मा सय मत मात्र प्राप्त गरेका थिए । काङ्ग्रेसभित्रै अलोकप्रिय रहेका विश्वनाथलाई उम्मेदवार बनाउन महेश आचार्य लागिपर्नुको कारण जेसुकै भए पनि निर्वाचन परिणामले उनको ‘च्वाइस’ गलत भएको प्रमाणित गरेको छ ।