सार्क देशका प्रहरीको सम्मेलन काठमाडौंमा हुने

सार्क देशका प्रहरीको सम्मेलन काठमाडौंमा हुने


सार्क राष्ट्रका प्रहरी संगठनहरुको बैठक काठमाडौंमा आयोजना हुने भएको छ । बैठक आगामी सेप्टेम्बर महिनामा हुने सो बैठकमा सार्क राष्ट्रका प्रहरी संगठनहरुबीच सहयोग र समझदारी विकास गर्न आयोजना हुन लागेको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिनुभएको छ ।

यसअघि गत माघ महिनामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सफलतापूर्वक काठमाडौंमा सम्पन्न भएको थियो । श्रीलंकामा हालै सम्पन्न सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौं बैठकमा सार्क प्रहरी संगठनको बैठक पनि नेपालमै गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी हुन गृहमन्त्री जनार्दन शर्मा, गृहसचिव लोकदर्शन रेग्मी र गृहप्रवक्ता काफ्ले कोलम्बो गएका थिए । उनीहरु आज मध्याह्न काठमाडौं फर्किएका छन् । गृहमन्त्रीस्तरीय बैठकले सार्क राष्ट्रहरुमा आवागमन गर्दा सार्क मुलुकका नागरिकहरुका लागि भिसा प्रक्रियालाई सरलिकरण गर्न आधुनिक सूचना प्रविधिसहितको ‘सार्क भिसा एक्जिम्सन स्टिकर स्किम’को विकास गर्ने र सबै सदस्य राष्ट्रहरुको सहमति कायम गरेर कार्यान्व्यनमा जान बाँकी कार्यहरु छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।