लण्डन । उत्तरी लण्डनको टोटनहाममा भएको हिंसात्मक लूटपाटको घट्नापछि लण्डनको पूर्वी र दक्षिणी क्षेत्रमा सिलसिलावर हिंसा र लूटपाटको घटनासंग सम्बन्धित सय जना जति अपराधीहरुलाई प्रहरीले गिरफ्तार गरी सकेको छ । लण्डनका कैयौ बोरोहरुमा हिंसात्मक अपराध भड्केर अशान्ति र तनावको स्थिति सिर्जना भएको छ । टोटनहामको घटनापछि हिंसा र लूटपाटको सिलसिला फैलिँदै इन्फिल्ड, ब्रिक्स्टन, वाल्थमस्टाउ र इजलिङटनमा पनि तोडफोड गर्दै लूटपाट मच्चिएको समाचार प्राप्त भएको छ ।
आइतवार साँझ इन्फिल्डमा केही युवाहरुका समूहले दुकानहरुमा तोडफोड गरेकाले रोयट पुलिस र डग हृयान्डलरहरुलाई निस्क्रिय गर्न खटिएका थिए । फूट लाकर स्टोरमा लागेको आगो मार्नका लागि फायर ब्रिगेडका ६ युनिट खटिएका थिए । ब्रिक्स्टनमा पनि सबेरै अपराधीहरुले तोडफोड गरिनुका साथै लूटपाट मच्चाएका थिए । अराजक आक्रमणकारीहरुका ससाना समूहले कारी, हृयालफोर्ड र बोडीशपका दुकानहरु लक्षित गरेर तोडफोड गर्दै समानहरु लुटेका थिए । ब्रिक्स्टनतर्फ जाने बस ड्राइभरहरुले ब्रिक्स्टनको हाइस्ट्रिट बसस्टपहरुमा गाडी नरोकी कुदाएका थिए । ब्रिक्स्टनका एकजना प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार सयौं मानिसहरुले लूटपाटका समानहरु बोकेर ओसारिरहेका देखेका थिए । उनीहरुले टीभीका सेटजस्ता बक्सहरु उठाउँदै लगेका देखेका थिए । मोबाइल फोनको पसलहरु र स्पोर्ट स्टोरका समानहरु तोडफोड गर्दै लूटपाट गरेका थिए ।
आज बिहानसम्म यी छिटपुट घटनाहरु घटिरहेका कुरा स्काइ न्यूजका संवाददाताले समाचार सम्प्रेषण गरिरहेका छन् । उत्तरी लण्डन र पूर्वी लण्डनका विभिन्न क्षेत्रहरु क्रमशः टर्नपाइप लेन, वाल्थमस्टाउ, चिङफोर्ड र लेटनका दुकानहरु तोडफोड गरेर लूटपाट गरेका समाचारहरु प्राप्त भएको छ । एउटा तीव्र गतिमा आएको गाडीले हानेर तीनजना प्रहरीहरु घाइते भएर अस्पताल पुर्याएको समाचार आज बिहान प्रशारण भएको छ । हाल प्रहरीहरुले ती क्षेत्रमा हिंसात्मक तोडफोड गर्दै लूटपाट गर्नेहरुलाई धरपकड गर्दै त्यस क्षेत्रलाई शान्त बनाउने प्रयास गरिरहेको छ ।
टोटनहाममा गरेजस्तै दुरुस्तै नक्कल गरेर लूटपाट मच्चाएका कुरा प्रहरीले जनाएको छ । प्रहरीका कमाण्डर खृष्टिन जोन्सले …. ससाना समूहमा लण्डनका विभिन्न बोरोका भागहरुमा कानून उलंघन गरी अपराधीहरुले हामीलाई चुनौती गरेका छन् हामी यस्ता घीनलाग्दा हिंसा र अपराधलाई सहन गर्न सक्दैनौं …लगातार छानबिन गरेर अपराधीहरुलाई न्यायको कठघरामा उभ्याउनेछौं र लण्डनवासीले यस घट्नालाई भर्त्सना गरेका छन्, यसले मान्छेको जीवन र समाजलाई नष्ट पार्ने काम भएको छ…. भनेकी छिन् ।
शनिवार राति र आइतवार बिहानसम्म टोटेनहाममा सामूहिक हिंसात्मक लूटपाट मच्चिएपछि अरु ठाउँहरुमा घटेका यी अपराधिक हिंसात्मक लूटपाटमा सम्बन्धित सयौंजनालाई प्रहरीले गिरफ्तार गरेको छ । २५ जनाजति प्रहरी यस घटनाबाट घाइते भएका छन् । यी अपराधीहरुको धरपकड भइरहेको छ । व्यापारीहरुले कैयौं मिलियन पाउण्ड रकम लूटपाट भएको समाचार प्रकाश पारेका छन् । श्रोत – स्काइन्यूज, सुमल, मेस ।
प्रतिक्रिया