प्रहरी अधिकारीहरुको बढुवा सिफारिस

प्रहरी अधिकारीहरुको बढुवा सिफारिस


गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । समितिको बैठक शुक्रबार बसेर निर्णय गरिएको भनिए पनि उक्त निर्णय आर्थिक वर्ष समाप्तिको दिन शनिबार सार्वजनिक गरिएको हो ।

सो समितिले डिआईजीबाट एआइजीमा क्रमशः बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको छ । रोल क्रमले आफूले आइजीपीको जिम्मेवारी पाउनुपर्ने भन्दै अदालतको ढोका समेत ढक्ढकाउन पुगेका नवराज सिलवाललाई समितिले बढुवा सूचीमा पारेको छैन ।

यस्तै, नेपाल प्रहरीका १५ जना एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक)लाई प्रहरी डिआइजी (नायब महानिरीक्षकमा बढुवा गर्न उक्त समितिले सिफारिस गरेको छ । एसएसपीबाट डिआइजीमा पदोन्नति गरिनेहरु मध्ये पहिलो नम्बरमा बहुचर्चित प्रहरी अधिकारी सर्वेन्द्र खनाल परेका छन् । अर्का चर्चित एसएसपी रमेश खरेललाई दुई नम्बरमा सिफारिस गरिएको छ । ज्ञातव्य छ, यी दुवै प्रहरी उच्चाधिकारीहरुलाई भावी आइजीपीका रुपमा समेत हेरिँदै आएको छ ।

खनाल र खरेलपछि पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवा समितिले बढुवाका लागि सिफारिस गरेको छ ।