काठमाडौं महानगरमा भएको निःशुल्क पार्किङ जनप्रतिनिधिद्वारा खारेज (दररेट सहित)

काठमाडौं महानगरमा भएको निःशुल्क पार्किङ जनप्रतिनिधिद्वारा खारेज (दररेट सहित)


सतप्रतिशत शुल्क बृद्धि

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निशुल्क पार्किङको व्यवस्थालाई जनप्रतिनिधि आएसंगै विभिन्न ऐन कानून अनुसार भन्दै सो व्यवस्थालाई खारेज गरि सतप्रतिशत पार्किङ शुल्क समेत बृद्धि गरिएको छ । काठमाडौं महानगरपालिकाले गत वर्ष २०७० पुस १० गतेदेखि महानगरपालिकाभित्र निशुल्क पार्किङको व्यवस्था लागु गरेको थियो । तत्काल महानगरले ७३ स्थानमा निशुल्क पार्किङको सुविधा दिएको थियो ।

तर अहिले आएर महानगरपालिकाले विगद ३ वर्षदेखि लागु गर्दै आएको निशुल्क पार्किङको व्यवस्थालाई हटाएको छ । महानगरपालिकाले पारित गरेको आर्थिक ऐन ०७४ ले काठमाडौं महानगरभित्र रहेका निशुल्क पार्किङलाई हटाई सशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको छ । ऐनअनुसार महानगरले सशुल्क पार्किङ थालेपछि एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागु गरेको छ ।

 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत सवारी साधन पार्किङ शुल्क लगाई असुल उपर गरिने ब्यवस्था ऐनले गरेको छ । पार्किङ व्यवसाय सञ्चालन गर्ने ब्यक्ति वा संस्थाले काठमाडौं महानगरपालिकाबाट पूर्व अनुमति लिएको हुनुपर्ने गरी ब्यवस्था गरिएको छ । क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक÷फरक हुने गरी कुनैपनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्ने गरि महानगरपालिकाको ऐनमै व्यवस्था गरेको छ ।
पार्किङका लागि महानगरलाई ३ क्षेत्रमा विभाजन गरेर शुल्क तय गरिएको छ । १ नम्बर क्षेत्रमा टेकुपुल उत्तरतर्फ सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, सामाखुसी, धापासी , महाराजगञ्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटो राखिएको छ । एक घण्टा दुई पांग्रे सवारी पार्किङ गर्दा प्रतिघण्टा १० रुपैयाँबाट बढाएर १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ, ६ पांग्रे वा सो भन्दा ठूलाका लागि प्रतिघण्टा १ सय २० रुपैयाँ तय गरिएको छ ।

त्यसैगरी, २ नम्बर क्षेत्रमा न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगाएतका भित्रि शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वरसम्म समेटिएको छ । दुई नम्बर क्षेत्रमा पार्किङ गर्दा दुई पांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ५० रुपैयाँ र ६ पांग्रे वा सो भन्दा ठूलाका लागि प्रतिघण्टा २ सय रुपैयाँ तय गरिएको छ ।

क्षेत्र नम्बर ३ को रुपमा विजुली बजार पुल पूर्व मनोहरा पुल, पेप्सिकोलासम्म, पुतलीसडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर लगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्मका स्थानको सार्वजनिक बाटोलाई राखिएका छन ।

यी क्षेत्रमा दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र ६ पांग्रे वा सो भन्दा ठूलाका लागि १ सय रुपैयाँ शुल्क तय गरिएको छ । सार्वजनिक जग्गामा सवारी पार्किङ व्यवसाय सञ्चालन गरेको भए लाग्ने व्यवसाय करमा पचास प्रतिशत छुट हुने ब्यवस्था पनि ऐनमा छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई यो आर्थिक वर्षमा व्यवसाय कर सय प्रतिशत छुट गरिदिने निर्णय समेत महानगरले गरेको छ ।  यसअघि महानगरपालिकाले सशुल्क पार्किङको ठेक्का दिन फागुनको पहिलो साता बोलपत्र आब्हान गरेको थियो ।

तर, सर्बाेच्च अदालत र पुनरावेदन अदालतमा बोलपत्र आब्हान बारे मुद्दा परेपछि निःशुल्क पार्किङको व्यवस्था लागु गरेको थियो । हालसम्म सो मुद्दा अदालतमा बिचराधिन अवस्थामै रहेको छ, भने बोलपत्र आह्बान तत्काललाई रोक्न स्टे अर्डर दिइएको थियो । तत्काल महानगरपालिकाको सञ्चालक समितिको बैठकले मंसिर १४ गते निशुल्क पार्किङको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

२०५२ सालदेखि पार्किङ शुल्क उठउँदै आएको महानगरपालिकाले यो शुल्क बापत बार्षिक ५० लाख रुपैयाँ उठाउने गरेको थियो । पछि सो बारे विवाद उत्पन्न भएपछि महानगरपालिकाले निशुल्क पार्किङको व्यवस्था लागु गरेको थियो ।