किन रोकियो भुटानी विमान ?

किन रोकियो भुटानी विमान ?


बेचिसकेको करिब ६ हजार टिकटका यात्रुलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज अभावका कारण अन्य कम्पनीको विमानबाट पठायो, कतिपय यात्रुलाई होटलमा राख्न तयार भयो भने कतिपयको पैसा नै फिर्ता गर्न बाध्य भयो । निगम यसरी व्यापक घाटा ब्यहोर्न तयार भयो तर करिव–करिव तय भइसकेको भुटान एयरलाइन्सको जहाज भाडामा लिने निर्णयबाट भने उ पछाडि फर्कियो । किन होला ?

निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न गत शुक्रबार सिङ्गापुर पठाइएको छ । मर्मतका लागि करिव दुई महिना लाग्ने भएपछि सो अवधिका लागि भुटान एयरलाइन्सको जहाज भाडामा लिने सोचका साथ प्रक्रिया अघि बढाइएको थियो । तर, भुटान एयरलाइन्सको उक्त विमान पुरानो भएको र नेपाली हवाई नीतिअनुसार प्रयोग गर्न नमिल्ने खुलासा भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुटानी विमान नलिने निर्णय गरेको हो । यो निर्णयसँगै अब झण्डै दुई महिना निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित हुने छ भने करोडौँ घाटा ब्यहोर्नु पर्ने अवस्था निम्तिएको छ ।

मन्त्रालयको निर्णयअनुसार निगमले भुटान एयरलाइन्सको जहाज मात्र नभई आफ्नो विमान मर्मतअवधिभर कुनै पनि विमान भाडामा लिने छैन । उसले एक बोइङ र दुई एयरबसबाट सातामा ३७ उडान भर्दै आएकामा बोइङ मर्मतमा गएपछि सातामा १७ उडान कटौती गरेको छ । बोइङ नभएपछि भारतको नयादिल्ली र बैंगलोर र मलेसियाको क्वालालम्पुरका केही उडान कटौती भएको निगमको भनाई छ ।

हवाई नीति २०६३ को कार्यनीतिअन्तर्गत बुँदा ५.२ मा ‘उडान सुरक्षा’ शीर्षकमा उल्लेख भएअनुसार ‘प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ७५ प्रतिशत पूरा गरेको वा ४५ हजार प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिला हुन आउँछ त्यस्ता वायुयान आयात गर्न निषेध गरिने छ । त्यस्तै, बुँदा ५.२.२.मा प्रेसराइज्ड नभएका वायुयानको हकमा आयात गरिने वायुयानको केश टु केश वेसिसमा वायुयानको पूर्ण विवण जाँच गरी निर्णय गरिने छ । तर २० वर्षभन्दा पुराना वायुयानलाई आयात गर्न सामान्यतया अनुमति प्रदान गरिने छैन ।

निगमले ‘ग्लोबल टेण्डर’ बाट छनोटमा परेको भुटान एयरलाइन्सको १६ वर्ष आठ महिना पुरानो विमान भाडामा ल्याउन लागेको भन्दै आलोचना भएको थियो । हवाई नीतिको व्याख्या नमिलेर निर्णय स्थगित भएको भन्दै निगमले भुटानको विमान दुई महिनाका लागि ल्याइन लागिएकोमा मन्त्रालयले त्यसलाई रोक लगाएको जनाएको छ । दुई महिनाको लागि विमान भाडामा लिने विषय महाप्रबन्धकले नै निर्णय लिन सक्ने भए पनि क्यानले हवाई नीतिअनुरुप प्रश्न उठाएकाले पछि विवादमा नआओस् भनेर निर्णय रोकिएको बताइएको छ ।