नबौरिने गरी छटपटिएको हो त राप्रपा ?

नबौरिने गरी छटपटिएको हो त राप्रपा ?


– वीरेन्द्रमणि पौडेल

नेपाल भूमिमा आवश्यकताले जन्माइएका र कसैको रहर र लहडमा जन्मिएका थुप्रै राजनीतिक दलहरूमध्ये अस्थिर मनस्थितिका नेताहरूले लतारेका एउटा राजनीतिक दल छ, त्यो पार्टीको नाम हो–राष्ट्रिय प्रजातन्त्र पार्टी । यति अवधीभित्र मुलुकलाई यहाँ वा त्यहाँसम्म पु¥याउँछौं भन्ने योजना नभएको, पदको लागि जेपनि गर्न तयारहरू मात्रै नेतृत्वमा पुग्ने विशेषता भएको यो पार्टी अहिले एक पटक फेरि नेतृत्ववीच टकराव हुँदा फुटको संघारमा उभिएको छ ।

यो देशका जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बारो लामो परिचय दिइरहन पर्छ जस्तो लाग्दैन, तैपनि देशको कुनाकाप्चा र जंगलतिर डुल्ने राउटेहरूलाई जानकारी नहुन पनि सक्छ भन्ने अनुमानका साथ सामान्य परिचय दिन उपयुक्त हुने ठानिएको छ ।

राष्ट्रवादी विद्यार्थी मण्डल जसलाई मण्डले भन्ने गरिन्थ्यो ती विद्यार्थीहरू र तिनलाई नेतृत्व प्रदान गर्ने पञ्चहरू मिलेर जन्माएको पार्टी राप्रपा हो । यो पार्टी २०४६ सालमा बहुदलीय ब्यबस्था आएपछि २०४७ सालको संविधान बमोजिम नै गठन भएको हो । पञ्चायतका हर्ताकर्ता सूर्यबहादुुर थापा र लोकेन्द्रबहादुर चन्दले अलग अलग तर एउटै नामको पार्टी जन्माएपछि कहिले जुट्ने कहिले फुट्ने गर्दै आएका यिनीहरू कहिले के रुप कहिले के रुप धारण गरिरहन्छन् । मिति सकिएका सांसदहरूलाई राजा ज्ञानेन्द्रले अमृत जल छर्किएर ब्यूँताएपछि तिनै सांसदहरूले संसदमा ताली पड्काएर राजसंस्था उखेलिदिएपछि त्यही उखेलिदिएको राजसंस्था बहाली गर्छु र हिन्दुराष्ट्र फर्काउँछु भन्ने नक्कली नारा बोकेर उदाएको पार्टी नै राप्रपा हो ।

दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सखाप भएको यो पार्टीको यतिबेला अध्यक्ष कमल थापा छन् । यिनी पियोर मण्डले हुन् अर्थात् यिनको राजनीतिक उदय राष्ट्रवादी विद्यार्थी मण्डलबाट भएको हो । यी चतुर राजनीतिक खेलाडी हुन् । यिनी जनतालाई झुक्याउन मात्रै सिपालु होइनन् आफ्नो भौतिक र राजनीतिक स्वार्थ पूरा गर्न यिनी माहिर छन् । यिनले केसम्म गर्न भ्याउँछन् भने आफू संलग्न भएको मन्त्रीपरिषदको विरुद्धमा झण्डा हल्लाउँदै अर्को पार्टीलाई समर्थन गर्छन् । एकबारको जुनीमा यिनले त्यस्तो गर्नै नहुने नमिल्ने काम पनि फत्ते गरिसकेका छन् । त्यही दिनदेखि नेपालमा सर्वाधिक अवसरवादी र मुसा प्रवृत्तिका मानिसको रुपमा परिचय पाएका यिनले संविधानसभाको निर्वाचनमा नेपाली जनता जो वास्तविक हिन्दुराष्ट्र कायम भएको हेर्न चाहन्छन् र संवैधानिक राजतन्त्र पुनबहाली भएको हेर्न चाहन्छन् तिनलाई फस्ल्याङ् फुस्लुङ पारे अर्थात् यिनले चुनावी नारा नै संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र बनाए । यिनको नारामा लट्ठिएर नेपाली जनताको एउटा ठूलै हिस्साले गाई चिन्हमा मतदान गरे ।

त्यही मतले समानुपातिकका अधारमा प्रत्यक्षतर्फ एकैसिट नजिते पनि संविधानसभामा कमल थापाले दुई दर्जनभन्दा बढी सभासद हुले । सत्ता गठबन्धनका एक बलियो दाबेदार बने र सरकारमा उक्लिए । उपप्रधानमन्त्री भए । यता हिन्दुधर्म कमल थापाले कहिले कायम गरिदेला र संवैधानिक राजा कहिले ल्याउला भन्ने आशामा तिनलाई मतदिने जनता कुरेर बसे । उता कमल थापा भने आफ्नो नियतमा पूरै सफा थिए अर्थात् यिनको दाउ ती सोझा जनताको आस्था र भरोसामा लात मार्नु नै थियो तिनले त्यसै गरे । पख–पख प्रयास गर्दै छु भने । अर्कोतिर गणतन्त्रका पक्षधर प्रचण्ड र केपी ओलीहरूसँग पनि अँगालो मार्दै गए । तिनको मन्त्रीमण्डलमा सेतो दौरासुरुवालमा सजिएर उपप्रधानमन्त्री पनि बन्दै गए ।

पछिल्लो दिनमा यिनले नौटंकी देखाएर प्रचण्ड र देउवाले न्यायालयमा हस्तक्षेप गरेको भन्ने बहाना बनाएर सरकारबाट बाहिरिए । सरकारमा नजाँदा गणतान्त्रिक संविधान धरापमा पर्ने भएको हुँदा आफ्नो परम कर्तब्य सरकारमा जानुपर्ने भएको बताउने, आफू राजतन्त्रवादी भएको बताउन पनि नछाड्ने, हिन्दुराष्ट्र कायम गर्ने मुद्दा उठाउन पनि नछाड्ने, त्यो मुद्दाको विरोधीहरूसँग अँगालो मार्न पनि नछाड्ने जस्ता परपस्पर विरोधी गतिविधि प्रदर्शन गरेर कमल थापाले आफ्नो राजनीतिक उचाई दिनकादिन घटाइरहेका त थिए नै, स्थानीय तहको निर्वाचनको मुखैमा आएर यिनले के पनि गरे भने यिनले आफ्नो मुखैले उस्तै परे राजतन्त्रको मुद्दा छाड्न सक्ने पनि बताए । जब कमल थापाको मुखबाट यस्तो वचन बाहिर निस्कियो तुरुन्तै संवैधानिक राजतन्त्र पक्षधर जनता कमलसँग बिच्किए । ती जनताले कमल थापालाई पटक–पटक मन्त्री बनाउन भोट दिएका थिएनन् संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन भोट दिएका थिए । त्यही मुद्दा कमल थापाले छाड्ने संकेत दिएपछि एकाएक ती दुई मुद्दा स्थापित गर्न चाहने जनता भड्किए ।

कमल थापालाई लागेको थियो होला राजावादी र हिन्दुवालाहरू सधैंभरि उनैको कुरामा लट्ठिने छन् । कमल थापा झुक्किए । जनता बाठा भएको उनले चालै पाएनन् । आफ्नो अवसरवादी चरित्रलाई जनताले सधैंभरि अनुमोदन गरिरहन्छन् भन्ने यिनलाई लागेको थियो तर यसपटक जनताले कमल थापाको गालामा गज्जबले थप्पड हाने । स्थानीय निर्वाचनमा झुक्याउन च्याँखे थापिएको गाई चिन्हमा नेपाली जनताले मत दिएनन् । जिन्दगीमा जति पटक सरकारमा गएपानि माखो नमार्ने नेपाली काँग्रेस, जाबो एउटा वृद्धभत्ताको लोकप्रियतामा जुनीभरि खान पल्केको एमाले र भूतपूर्व डाङडुङे पार्टी माओवादी केन्द्रलाई नै भएभरको मत ओइ¥याइदिए ।

थाहा छ, दुनियाँलाई थाहा छ कि हजार वर्ष काङ्ग्रेसलाई सत्ताको साँचो सुम्पे पनि यो मुलुक अघि बढ्दैन किनकि यो पार्टीसँग मुलुकलाई समृद्धशाली बनाउने फर्मुलै छैन । भएको भए आजसम्म निकै पटक सत्तामा जाँदा देखाइसक्थ्यो । एमालेहरू एक काम गरे भने सय काम गरेको गफ दिन्छन् । यिनीहरू चटक देखाउन सिपालु छन् । चटक देखाएरै जनतालाई फनफनी घुमाउँछन् । अब माओवादी केन्द्रको त झन् कुरा गरी साध्ये छैन । अहिले ज्यानमा सेन्ट छर्किएर मगमग वासना आउने गरी ढल्कीढल्की हिँड्ने, मिठोमसिनो खाने अबस्थामा आइपुगेका यिनीहरू बल्लबल्ल जनताको मन जित्न कसरी सकिन्छ सिक्दै छन् । “नगद दिन्छस् की ठोकौं ?” भन्दै हिँड्न बानी परेका यिनलाई जनता फकाउन कम्ता गारो भएको छैन । सरकारमा गएर अर्बौं रुपैयाँ विकास निर्माणका लागि निकासा गरेका छन्, साँच्चै साँच्चै सुध्रिएको प्रमाण पेश गर्दै छन्, सत्यसत्य धरोधर्म अब पहिलाको जस्तो डाङडुङ गर्दैनौं भन्दै छन् तैपनि जनताले शंकाको आँखाले हेरेका छन् । पूरा विश्वास गरेका छैनन् । पूरै विश्वास गरेका भए यिनलाई जनताले स्थानीय तहको निर्वाचनमा पहिलो नम्बरको पार्टी बनाइदिने थिए ।

शंका गरेकै कारण जनताले यस पटकको स्थानीय निर्वाचनमा तेश्रो बनाइदिएका छन् । तर त्यत्रो चुरीफुरी देखाएको राप्रपा भुसुक्कै भयो । मामुली कारण चाही राप्रपामा युवाकार्यकर्ता छैनन् । सिद्धान्त छैन । जति छन् तिनमा राजनीतिक संस्कार छैन । कमल थापा खालका नेताहरू यो पार्टीमा थुप्रै छन् । यी नेताहरू राजाको नजिक बसेर राजनीति गरेका हुन् । राजाको हुकुम तामेली गर्न बानी परेका यी नेताहरू पार्टीका कार्यकर्ताहरूलाई दास र आफूलाई राजा सम्झिन्छन् । समस्या यहीँनेर देखा प¥यो की यी फुच्चे राजाहरूलाई दासप्रथा चन्द्रसमशेरकै पालामा उन्मुलन भएको होसै भएन । गजक्क परेर निर्वाचनमा खट्न कार्यकर्तालाई आदेश दिए । परिणाम जे हुनु थियो त्यही भयो । मामुली कारण त यिनै हुन् तर मेजर कारण भने अरु हुँदै होइन, हो भने के मात्रै हो भने कमल थापाले हिन्दुधर्म र राजतन्त्रवाला मुद्दा छाड्नु नै हो ।

फेरि सुन्नलाई के पनि सुनिन्छ भने पैसावाल धनी भूतपूर्व राजा ज्ञानेन्द्रसँग कमल थापाले राजतन्त्र फर्काइदिन्छु भन्दै पैसा माग्दै गर्थे । पैसा मागेर हैरान पार्ने, राजतन्त्र फर्काउने छेकछन्दै नदेखाउने, राजा आफू बुढो हुँदै जाने, एकबारको जुनीमा तेश्रो पटक फेरि राजा हुन पाउने नपाउने ठेगान नहुने भएपछि भूतपूर्व महाराज ज्ञानेन्द्रले वाक्किएर कमल थापालाई स्थानीय निर्वाचन लड्न पैसा चुहाएनन् । कमल थापा पैसा नपाएपछि जंगली घाइते माहुरी भुन्भुनिएझैं भुन्भुनिएर जमिनमा पछारिए । रिसको झोकमा यिनले अब राजतन्त्रलाई बोक्दिन भने । यत्ति यिनको मुखबाट के फुस्किएको थियो राजावादी र हिन्दुवाला नेपाली जनताले काङ्ग्रेस, एमाले र माओवादी केन्द्रलाई ह्वारह्वार्ती भोट खसाले । कमल थापालाई ‘इस् खा’ भनेर लोप्राइदिए । चुनावी मैदानबाट स्वाट्टै बाहिर फाली दिए । अब त यस्तो लाग्छ राप्रपा नामको पार्टी अब फेरि बौरिने छैन । यसपटक बेहोस भएको यो पार्टी बेहोसैमा समाप्त हुने छ । बरु नेपाली जनताले साझा पार्टी र विवेकशील नेपाली पार्टीलाई भोट दिएर अस्तित्वमा ल्याउलान् तर कमल थापावाला राप्रपालाई फेरि बौराउने गरी भोट हाल्ने छैन । कुनै पनि हालतमा हाल्ने छैनन् । समाप्तिको डिलमा उभिएको राप्रपालाई हार्दिक सहानुभूति !