एफएम रेडियोसम्बन्धमा यस्तो छ सेनाको प्रष्टोक्ति

एफएम रेडियोसम्बन्धमा यस्तो छ सेनाको प्रष्टोक्ति


नेपाली सेनाले आफ्नो एफएम रेडियो सञ्चालनसम्बन्धी कार्यक्रमप्रति भ्रममा नरहन सरोकारवाला सबैसँग आग्रह गरेको छ । विगत केही दिनयता कतिपय सञ्चारमाध्यमले नेपाली सेनाको एफएम रेडियो कार्यक्रम सञ्चालनबारे विभिन्न दृष्टिकोणबाट समाचार तथा लेख प्रकाशन भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सेनाले आफ्ने भनाई सार्वजनिक गरेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै नेपाली सेना नेपालको संविधानद्वारा निर्दिष्ट भूमिकाको परिधिभित्र रही राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डताको संरक्षण तथा नेपाल र नेपाली जनताको हितमा सदा समर्पित भई अनुशासित तथा व्यवसायिक रािष्ट्रय सेनाको रुपमा आफ्नो जिम्मेवारी ईमादारीपूर्व सम्पन्न गर्दै आएको प्रष्ट्याएको छ ।

विकसित एवम् प्रजातान्त्रिक कैयन मुलुकमा पनि सैनिक गतिविधिबारे सैनिक तथा अन्य सरोकारवालालाई सुसूचित गर्न रेडियो तथा टेलिभिजन सेवा सञ्चालन भएअनुसार नेपाली सेनाले पनि बहालवाला एवम् भूतपूर्व सैनिक तथा सैनिकका आश्रित परिवारका सदस्य र आम नेपाली जनतालाई आफ्ना गतिविधिबारे सुसूचित गर्न नेपालको राष्ट्रिय प्रशारण ऐन २०४९ तथा प्रशारण नियमावली २०५२ को परिधिभित्र रही एफएम सञ्चालन गर्ने प्रयास गरेको सेनाको भनाई छ । यसरी सुरु गर्न लागिएको एफएम रेडियो स्टेशनको प्रसङ्गलाई राष्ट्रिय राजनीतिसँग जोडी फरक रूपमा प्रस्तुत गर्न खोजेको पाइएकोले यथार्थ स्पष्ट पार्नु वान्छनीय देखिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली सेनाले नेपालको संविधान तथा कानूनको परिधिभित्र रही विपद् व्यवस्थापन, बन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदान, स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामूलक सन्देश सैनिक, सैनिकका परिवार तथा नेपाली जनता र सम्पुर्ण सरोकारवालाहरु समक्ष पु¥याउने र राष्ट्रभक्तिको भावना विकास गर्ने कार्यमा सहयोग पु¥याउने पवित्र उद्देश्य लिई नेपाली जनता तथा सरोकारवालाको सूचनाको हकको समेत कदर गर्दै सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन एफएम स्टेशन सञ्चालन गर्ने प्रयास गरिएको हो । विगत २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पको समयमा सूचना प्रवाहसम्बन्धी महसुस भएको कठिनाइलाई समेत दृष्टिगत गरी भविष्यमा यसप्रकारको दैवी विपत्तिको अवस्थामा खोज, उद्धार तथा राहतको साथै जोखिम न्यूनिकरणसम्बन्धी सूचना प्रवाह गर्ने कार्य अझ प्रभावकारी बनाउन र आवश्यकताअनुसार पूर्व जनाउ दिने व्यवस्था समेत विकास गर्ने पवित्र उद्देश्यले पनि यो प्रयास गरिएकोसवैमा अवगत गराउन चाहन्छौँ ।’

नेपाली सेना आफ्नो प्राथमिक भूमिका तथा व्यवसायिकताबाट कहिल्यै विचलित नभएको गौरवमय इतिहासअनुरुप आगामी दिनमा पनि नेपाली सेना नेपालको संविधान तथा संवैधानिक सरकारप्रति वफादार रही उच्च सैनिक व्यवसायिकता कायम राख्दै नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार जिम्मेवारी पुरा गर्न समर्पित रहने प्रतिबद्धता जनाउँदै नेपाली सेनाले एफएम रेडियो सञ्चालन पहलप्रति कुनै भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ ।