– ममता शर्मा नेपाल
गएको साता लगभग हरेक दिन महिला हत्या र हिंसाका श्रृंखलावद्ध खबरहरू सञ्चार माध्यममा आइरहे । महिला सांसदले पनि यस विषयलाई संसदको बैठकमा उठाए र घटनाको दोषीमाथि कारवाहीको माग गरे । अधिकारकर्मी, स्वतन्त्र लेखक र समाजका चेतनशील वर्गलाई यस विषयले अझै लखेटिरहेको छ ।
कोहलपुरमा श्रीमानले श्रीमतीको घाँटी छिनाले, रुकुममा वडा सदस्यमा नवनिर्वाचित दलित महिलालाई श्रीमानले हत्या गरे, खोटाङमा चौथो पटक पनि छोरी जन्माएको भनेर श्रीमानले श्रीमतीको हातका औंलाहरू काटे, दैलेखको छाउगोठमा सुत्न बाध्य पारिँदा सर्पले डसेर युवतीको मृत्यु भयो, बाग्लुङमा एक महिलाको बेवारिस शव भेटियो । महिला हिंसाका यी खबर गन्न नभ्याउँदै सिरहाका दुई निर्दोष महिलालाई फेसबुकमा फोटो राखेको आरोपमा (जुन उनीहरूले राखेका नै थिएनन्) छिमेकीले निर्घात कुटे ।
यी त भए सञ्चार माध्यममा प्रकाशित भएका खबर । सञ्चार माध्यममा नआएका अरु धेरै घटना समाजको अन्तरकुन्तरमा रहेका हुन्छन् जसलाई सामान्य चेतना भएका मानिसले समेत सहजै अनुमान गर्न सक्छन् ।
पक्कै पनि महिला हत्या हिंसाका यी श्रृंखलाले नेपाली समाजलाई नराम«री हल्लाएको छ र महिलाले अहिलेसम्म पाएका उपलब्धिको विषयमा अझ चुनौती थपिदिएको छ । एकातिर महिलालाई राज्यको शिखर पदमा आसिन गराउन हाम्रो आन्दोलनले सफलता हात पार्दैछ भने अर्को तिर महिलामाथिका हिंसा, विभेद र दुवर््यवहार नियन्त्रण गर्न नसकिएको अवस्थाले आन्दोलनले ल्याएका उपलब्धिलाई निस्तेज पार्न थालेको छ । यसले के देखाउँछ भने केही अभियन्ताका एक्ला प्रयासले समाजमा हिंसा नियन्त्रण गर्न कठिन हुन्छ । जबसम्म हरेक व्यक्तिमा लैंगिक सचेतना आउँदैन र राज्यले दोषीलाई कानुनको दायरामा ल्याएर दण्डित गर्दैन समाजमा महिलामाथिका हिंसा दाहोरिइ रहन्छ । हाम्रा परंपरा, संस्कृति र सामाजिकीकरणमा भएका त्रुटीहरूले महिला हिंसा गर्न उत्प्रेरित गरिरहेका हुन्छन् ।
नेपालमा अझै पनि विवाहित महिला जनसंख्याको एक तिहाइ भाग उनीहरूका पतिद्वारा मानसिक, शारीरिक र यौन हिंसाबाट पीडित हुने गरेको एक अध्ययनले बताएको छ । यो तथ्यले हाम्रो समाजको कुरुप चित्रलाई उजागर गर्दछ ।
रजश्वला हुनु महिलाको जैविक विशेषता हो र यो मानव सृष्टिको आधार हो । आमाको गर्भासय विना मानव सृजना र सभ्यताको परिकल्पना नै हुनसक्दैन । तर, हाम्रा मूल्य निरुपणकर्ताहरूले यसलाई अर्कै अर्थ दिए र मानवतालाई नै कलंकित गर्ने कार्य गरे ।
माथिका घटनाका अधिकांश दृश्यहरूमा श्रीमानले श्रीमतीको हत्या र हिंसा गरेको देखिन्छ । पितृप्रधान समाजले महिलाको अस्तित्वको उपेक्षा गर्दछ । यो व्यवस्थामा श्रीमानले आफ्नी श्रीमतीलाई निजी सम्पत्ती मान्छ र उसलाई नियन्त्रण गर्न उद्यत हुन्छ । यही परिणाम हो, रुकुममा वडा सदस्यमा निर्वाचित बयानसरी कामीलाई उनका श्रीमान तेजबहादुरले हत्या गरे । त्यस्तै खोटाङमा केदार राईले छोरी–छोरी जन्मनुमा आफ्नो कारण देखेनन् यसमा श्रीमतीको नै कमजोरी देखे र माइतीमै पुगेर उनको हातका औंलाहरू छिनाल्न पुगे ।
विश्वसमाज विकासको मार्गमा द्रुत गतिले अगाडी बढिरहेको छ । सञ्चारको अकल्पनीय विकासले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । एक देशमा उठेका अधिकारका स्वरहरू अर्को देशमा तत्कालै पुग्छ तर नेपाली समाज भने उही अठारौं शताब्दीको तरंगमा मग्न छ । रुढीवाद र अन्धविश्वासलाई अझै पनि च्यापिरहेको छ । धामीझाँक्री, बोक्सी र छाउ प्रथालाई अझै पनि मलजल गर्दैछ । यही चपेटामा कैयौं महिलाले आजका दिनसम्म पनि ज्यान दिनु परिरहेको छ ।
नेपाली समाज अझै पनि पितृसत्ताको दलनबाट मुक्त हुनसकेको छैन । सयौँ वर्ष पहिले समाजले बनाएका मूल्य र नियमहरू अहिले पनि उस्तै छन् । कुनै अँध्यारो युगमा राजामहाराजाले जे नियम र विश्वास थोपरे अहिले पनि त्यसको प्रेतले समाजलाई जकडेको छ । मनुस्मिृतिमा महाराज मनुले बाँधेको थिति अहिले पनि समाजमा कायम छ । मनुले भनेका थिए– शुद्र, नारी, ढोल र पशुलाई पिटैर वशमा राख्नुपर्छ । यही कुरालाई कवि तुुलसीदासले पछ्याए । हाम्रा आदि कवि भानुभक्तले पनि त्यही मान्यतालाई पछ्याएर वधुशिक्षा लेख्न पुगे ।
गरुड पुराणमा भनिएको छ– स्त्री रजश्वला हुनु उनको पापको कारणले हो । यस्तो मान्यताले रजश्वलाको अवधिमा रहेकी स्त्रीलाई अपवित्र मान्ने मान्यता बन्दै गयो । त्यो अवधिमा उनलाई घरबाट टाढा राख्ने चलनको विकास भयो । उनलाई छुन नहुने र छोएमा पाप लाग्ने अन्धविश्वासले छाउपडी जस्तो कुप्रथा जन्म्यो । रजश्वला हुनु महिलाको जैविक विशेषता हो र यो मानव सृष्टिको आधार हो । आमाको गर्भासय विना मानव सृजना र सभ्यताको परिकल्पना नै हुनसक्दैन । तर, हाम्रा मूल्य निरुपणकर्ताहरूले यसलाई अर्कै अर्थ दिए र मानवतालाई नै कलंकित गर्ने कार्य गरे । दैलेखमा छाउघरमा बसेकी शान्ता शाहीलाई सर्पले डसेर मृत्यु भएको घटनालाई यही सडेगलेको मान्यताको परिणाम भन्नुपर्छ ।
फेसबुक लोकप्रिय सामाजिक सञ्जाल हो । यसका कमजोरी र सीमा पनि छन् तर यो सञ्जालले पुरानो समयको नायकत्वलाई भत्काएको छ । यसमा प्रयोगकर्ताले आफ्ना रुचि र मान्यतालाई विना ‘सेन्सर’ राख्न सक्छन् र समाजमा चल्ने विचार र मान्यताको वहसमा भाग लिने अवसर पाउँछन् । फेसबुकमा फोटो राख्नु अपराध होइन तर सिरहाका दुई महिला आफ्नी छिमेकी साथीले फोटो राख्दा नराम्ररी कुटिए । यो घटनाले हाम्रो समाजको घिनलाग्दो तस्बिर देखाउँछ ।
नेपालमा अझै पनि विवाहित महिला जनसंख्याको एक तिहाइ भाग उनीहरूका पतिद्वारा मानसिक, शारीरिक र यौन हिंसाबाट पीडित हुने गरेको एक अध्ययनले बताएको छ । यो तथ्यले हाम्रो समाजको कुरुप चित्रलाई उजागर गर्दछ । यस्तो हुनुमा हाम्रा कानुनहरू फितलो हुनु नै मुख्य हो । अर्को कुरा कानुन बने पनि त्यसको कार्यान्वयन नहुनुले अपराधलाई प्रोत्साहित गरिरहेको छ । हाम्रा अपराध नियन्त्रण गर्ने जिम्मा पाएका संस्थाहरू पितृसत्ताको मनोरोगले ग्रस्त छन् । महिलामाथि हुने आपराधिक घटनालाई सामान्य घरेलु समस्या भनेर पन्छाउँछन् वा मिलापत्रमा टुंग्याउँछन् । यस्तो अवस्था रहेसम्म न्याय र समतामुखी समाजलाई नसुहाउने अपराध दोहोरिइरहन्छ ।
प्रतिक्रिया