गत जेठ २४ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डललाई अझै पूर्णता दिन सकेका छैनन् । पार्टीका शक्तिशाली सभापति भएर पनि आफ्नै दल या दलका नेता–कार्यकर्तासँग उतर्सिएर मन्त्री चयनमा ढिलाइ गरी देउवाले आफैँलाई असहज प्रधानमन्त्री साबित गराउँदै छन् । बिहानीले दिनको सङ्केत गर्छ भन्ने प्रख्यात भनाइलाई आधार बनाई भन्ने हो भने प्रधानमन्त्री देउवाको सुस्तता देशकै सुस्त गतिको द्योतक हो । डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् गठन कार्य अवरुद्ध अवस्थामै रहने देशले कसरी स्वाभाविक गति लिन सक्छ ? यस्तो मुलुकले उन्नति–प्रगतिको छलाङ मार्ने कुरा त निकै परको हो ।
त्यसो त आजभोलिमै मन्त्रिपरिषद् विस्तार हुने चर्चाले राजनीतिक बजार यतिबेला गर्माएको छ । सम्बन्धित दलका अधिकारप्राप्त नेताहरूले पनि यसको पुष्टि गरेका छन् । तर, मन्त्रिमण्डल निर्माणमा यसरी हुने ढिलासुस्ती, असहजता र अन्यमनष्कताको अवस्था यो पहिलो नभएको र यसले एउटा संस्कार–संस्कृतिकै रूप लिएकोले यस्तो प्रवृत्तिबाट उन्मुक्तिको कामना गरिनु यतिबेला वाञ्छनीय छ । प्रजातान्त्रिक प्रणालीमा प्रवेश गरेपछिका हरेकजसो सरकार निर्माणका क्रममा देखिँदै आएको यस विकृत संस्कारले मन्त्रिपरिषद् गठनमा ठोस पद्धतिभन्दा पार्टी या नेतागत स्वार्थ हाबी हुने गरेको कटुयथार्थ उजागर गर्दछ । सरकार गठनको यतिका समय गुज्रँदा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसक्नुमा दलका शीर्षनेताहरू र स्वयम् प्रधानमन्त्रीको स्वार्थले भूमिका निर्वाह गरेको नहोला भनी यकिन भन्न सकिँदैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै सन्दर्भमा भन्ने हो भने उनलाई आफ्ना मन्त्री चयनमा निकै सास्ती परेको अनुभूति गरिएको छ । गठबन्धनमा रहेका दलको भन्दा पनि नितान्त आफ्नै कारणले उनी अल्झिएको दुनियाँले बुझेको विषय हो । पार्टीका विभिन्न विभाग तथा केन्द्रीय सदस्य चयनको मामलामा देउवाले अवलम्बन गरेको रवैयालाई पनि विश्लेषकहरूले ‘पार्टीमा आफ्नो अनधिकृत वर्चश्व बढाउने प्रयत्न’का रूपमा व्याख्या–विश्लेषण गरेका छन् । यो शैली पार्टीभित्रका पदाकाङ्क्षीहरूलाई आफ्नो वरपर रिङ्ग्याइराख्ने, आफ्नो वशमा पार्ने या हनुमान तुल्याउने सोचको उपज नहोला भन्न सकिन्न । हुन पनि इमानदार एवम् स्वाभिमानी कार्यकर्ताबाहेक प्रायजसो पार्टी–सदस्य नेता रिझाएरै सिँढी उक्लने सोचबाट अभिप्रेरित देखिएको माहोलमा देउवाजस्ता ‘भित्रैका बाठा’ नेताको रणनीति सफल देखिनु अस्वाभाविक पनि छैन । योग्य या अयोग्य, कर्मठ या आलस्यग्रसित, इमानदार या धूर्त, पाइनदार या पङ्गु सबै खालका काङ्ग्रेस कार्यकर्तालाई विभिन्न प्रलोभन दिएर आसमा अल्झाउँदै आफ्नो बाटो छिचोलिरहनु देउवाजस्ता ‘अनुभवी’ सभापतिको विशेष खुवी पनि हो । यही क्षमता उनले मन्त्री चयनको सन्दर्भमा पनि प्रदर्शन गरेका छन् । फलतः देउवाबाट भए–गरेका राम्रा कर्मको उचालिएर प्रशस्ति गाउनु र नराम्रा या अलोकप्रिय कुराको नग्न ढाकछोपको प्रयत्न गर्नु एकथरी कार्यकर्ताको दैनन्दिनी नै बनेको छ ।
उल्लिखित रोग फगत काङ्ग्रेस या नेता देउवामा मात्रै छ भन्ने ठान्नुचाहिँ गलत हुनेछ । आजका सबै दल तथा तिनका नेता–कार्यकर्तामा धेरथोर यो बिमार सल्किएकै छ । ‘राम्रा’ नहेरी ‘हाम्रा’लाई आँखा चिम्लिएर काखी च्याप्ने, काँध चढाउने दुष्प्रवृत्तिले मुलुककै अनुहारमा दाग लगाएको छ । वर्षौंवर्षसम्म उही–उस्तै या एउटै एजेण्डामा अल्झिएर रहने, विकासका कुरा गर्ने, तर व्यक्तिविशेष उप्सिने, आमजनता अनेक समस्यामै पिल्सिरहने अवस्थाको झन्–झन् मजबुती कुनै एउटा दल या एक नेताको कारण सम्भव भएको होइन । यतिबेला देशकै कार्यकारी प्रमुखको भूमिकामा भएकाले देउवाको उपमा प्रकट गरिएको मात्र हो । यसै साता बीपी कोइरालाको स्मृति दिवस पनि परेको छ । कुनै बेला बीपीकै आदर्श पछ्याएर, उनको अह्रोट मानेर आफूलाई यहाँसम्म ल्याइपु¥याएका देउवाजस्ता नेताले एकपटक फेरि विगततिर फर्किहेर्ने हो कि ! देश र जनतालाई मन–मुटुमा राखेर उनले पार्टी र आफ्नै विगतको पनि पुनरावलोकन गर्ने र हृदयले जे भन्छ त्यसलाई इमानका साथ व्यवहारमा उतार्ने प्रयत्न गरे भने काङ्ग्रेस या काङ्ग्रेसजनको मात्र नभई सिङ्गै देशले राहतानुभूति गर्न सक्ने परिवेश पैदा हुन सक्छ । देउवाजस्ता नेताले बीपीजस्ता सबैले मानेका नेताप्रति आस्था प्रकट गरेको पनि त्यतिबेला मात्र सिद्ध हुन सक्छ ।
प्रतिक्रिया