हुलाकी राजमार्गका लागि भारतले दियो पहिलो किस्ता

हुलाकी राजमार्गका लागि भारतले दियो पहिलो किस्ता


भारतले हुलाकी राजमार्गअन्तर्गतका १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई झण्डै २४ करोड रुपैयाँ सहयोग दिएको छ । यसअघि, नेपाल र भारत सरकारबीच हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो ।

सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम उसले अग्रिम भुक्तानी गरेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँको चेक हस्तान्तरण गरे । यो नेपाली रुपैयाँ २३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ हुन्छ ।

कार्यक्रममा भारतीय राजदूत सिंहले हुलाकी राजमार्ग अन्तर्गतका १० वटा सडक निर्माणका लागि सहकार्य गर्ने अवसर पाएकोमा भारत सरकार खुसी रहेको बताए । नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी गर्न भारत सधैं तयार रहेको पनि उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए । कार्यक्रममा उनले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित सडक निर्माणको काम समयमै सम्पन्न हुने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको आर्थिक सहायतामा बनाउन लागिएको १० वटा सडकमध्ये ९ वटाको ठेक्का दिने काम सम्पन्न भएको र बाँकी एउटाको पनि ठेक्का दिने प्रक्रिया सुरु भइसकेको स्पष्ट पारेको छ ।