कम छैनन् जिग्री र पाँडे, ‘धुर्मुस’ले जस्तै बनाइदिए घर

कम छैनन् जिग्री र पाँडे, ‘धुर्मुस’ले जस्तै बनाइदिए घर


हास्य कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ पनि घर बनाउने अभियानसहित समाजसेवामा लागेका छन् । सार्वजनिक सहयोगबाट देशको तीन स्थानमा एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेका हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’का भाइसमेत रहेका ‘जिग्री’ र ‘पाँडे’ले सप्तरीस्थित पट्टी परवाहका तीन दृष्टिविहीन परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका हुन् ।

‘पाँडे’ले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार शिवनारायण मण्डल, शम्भु मण्डल र लक्ष्मण मण्डलको परिवारलाई उक्त घर हस्तान्तरण गरेका हुन् । २२ जना दृष्टिविहीन रहेको उक्त परिवारमा काम गर्न सक्ने दुईजना मात्रै छन् ।

यी दुई कलाकारको अगुवाईमा ३१ लाख ७० हजार लागतमा शौचालयसहितको तीन कोठाको घर निर्माण गरिएको छ ।

राजविराजबाट १६ किलोमिटर पश्चिममा पर्ने गमरिया पट्टि टोल अति पिछडिएको बस्ती मानिन्छ । हाल डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ मा पर्ने उक्त टोलमा विद्युत सुविधासमेत पुगेको थिएन । कलाकारहरूकै सहयोगमा हाल विद्युत पुगेपछि स्थानीय पनि हर्षित भएका छन् ।