ऐन बनेको दुई वर्षपछि नियमावली तयार

ऐन बनेको दुई वर्षपछि नियमावली तयार


विशेष आर्थिक क्षेत्र (सेज) ऐनको नियमावली एक वर्ष अघि पारित भएपनि बल्ल तयार भएको छ । नियमावली तयार भएसँगै अब उक्त ऐनमा उल्लेख गरिएका प्रावधान कार्यान्वयन हुने भएको छ ।  ऐन बने पनि त्यसलाई कार्यान्वयनमा लैजान नियमावली अनिवार्य हुन्छ । ऐनमा उल्लेख भएका प्रावधानलाई स्पष्ट पार्ने काम नियमावलीले गर्ने भएकाले ऐन कार्यान्वयनकालागि नियमावली निर्माण हुनुपर्ने हुन्छ ।

सेज ऐन बनेको एक वर्ष वितिसक्दापनि नियमावली नबन्दा सो सम्बन्धित विभिन्न काममा समेत बाधा पुग्दै आएको थियो । विशेष आर्थिक क्षेत्र प्राधिकरण नेपालका कार्यकारी निर्देशक चण्डिका भट्टले यसको अन्तिम स्विकृतिको लागि सरोकारवाला मन्त्रालयहरूमा पठाएको बताएका छन् । उनका अनुसार तयार भइसकेको नियमावलीलाई अर्थ मन्त्रालयल, कानुन मन्त्रालय लगायतका अन्य सम्बन्धित निकायमा स्विकृतिको लागि पठाइएको जानकारी दिएका छन् ।  मन्त्रालयहरूबाट सहमति आएपछि उक्त नियमावलीलाई मन्त्रीपरिषदले पारित गर्नेछ । अनि मात्र त्यो कार्यान्वयनमा लैजान सकिने निर्देशक भट्टले बताए ।

ऐनले सेजमा स्थापना हुने कुनै पनि उद्योगलाई एकद्वार प्राणालीबाट सेवा सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । त्यसैगरी, निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न सक्ने भन्ने प्रावधान ऐनमा राखिएको छ । नियमावली बनेपछि यि दुई प्रावधानलाई कार्यान्वयमा लैजान सबैभन्दा सजिलो हुने प्राधिकरणले जनाएको छ । एकद्वारलाई ब्याख्या गर्न र निजिक्षेत्रले संचालन गर्ने सेजको मापदण्ड, संचालन बिधि जस्ताकुरा नियमावलीले स्पष्ट पार्ने छ । नियमावलीले निजी क्षेत्रले कसरी सेज सञ्चालन गर्न सक्छ, के के सर्त पालनना गर्नु पने भन्ने स्पष्ट गर्ने छ ।

सेज भित्र स्थापना हुने उद्योगलाई सबै सुविधा एकद्वार प्रणालीबाट दिनु नै रहेको छ । एकद्वार प्रणाली भनेको कुनै पनि उद्योग स्थापना गर्न दर्ता, सञ्चालन गर्ने अवधि र खारेज गर्दासम्मको सम्पुर्ण सुविधा सेज भित्रै उपलब्ध गराउनु रहेको छ । नियमावली आएपछि उद्योग दर्ता गर्ने अफिस, बैंक, कर कार्यालय, विद्युत, लगायतका प्राशासनिक तथा प्राविधिक सबै सुविधा सेज भित्रै हुनेछन् । यि निकायको सञ्चालनको विधि सेज नियमावलीमा उल्लेख गरिने छ ।

मुलुकमा १४ वटा सेज स्थापना गर्ने सरकारको योजना रहेको छ । पहिलो पटक भैरहवा सेज संचालन हुन लागेको छ । भैरहवामा ७ अर्ब रुपैयाँ लागानी गर्दै १९ वटा उद्योग स्थापना गर्ने सम्झौता भइसकेको छ ।

चरणबद्धरुपमा बाराको सिमरा, काभ्रेका पाँचखालमा पनि सेज बनाउने काम भइरहेको छ । अन्य ११ वटाको भने क्षेत्र निर्धारण गरिए पनि निश्चित स्थान यकिन हुन सकेको छैन । कुनै पनि विशेष आर्थिक क्षेत्रमा संचालन हुने उद्योगले स्थापना भएको पहिलो पाँच वर्षसम्म शतप्रतिशत आयकर छुट पाउँछन् । कम्तीमा ६० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योग भए स्थापना भएको १० वर्षसम्मको लागि आयकरमा ५० प्रतिशत छुटको व्यवस्था छ । अन्य उद्योगको हकमा ५ वर्षसम्म ५० प्रतिशत छुट पाउने प्राबधान ऐनमा उल्लेख छ ।