अर्थ मन्त्रालय भन्छ : ‘रेल किन्न पैसा छैन’

अर्थ मन्त्रालय भन्छ : ‘रेल किन्न पैसा छैन’


अर्थ मन्त्रालयले रेल किन्न पैसा नभएको जवाफ फर्काको छ । रेल्वे विभागले सन् २०१८ को अन्त्यसम्ममा रेल चलाउने तयारी सहित अर्थ मन्त्रालयसंग बजेट मागेको थियो । रेल्वे विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष रेल किन्न पैसा मागेपछि अर्थ मन्त्रालयले रेल खरिदका लागि पैसा नभएको बताएको हो ।

विभागले रेलको दुईटा इन्जिन र १२ वटा डब्बा खरिद गर्न बजेट माग गरेको भए पनि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । जनकपुर–जयनगर–बर्दिबाससम्मका लागि रेल किन्न विभागले अर्थसँग ३ अर्ब रुपैयाँ बजेट मागेको थियो ।

बजेट आइसकेपछि नयाँ कार्यक्रमलाई थप रकम विनियोजन गर्न नमिल्ने भन्दै अर्थ मन्त्रालयले बजेट नदिने भनेको स्पष्ट पारेको छ । अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले रेल किन्न बजेट दिन नसकिने बताए ।

उनले प्रतिप्रशन गर्दे भने “बजेट चाहिने विभागले किन जेठ १५ अगावै किन मागेन ? बजेट कार्यान्वयनमा गएपछि अहिले बजेट चाहियो भनेर माग्न पाइन्छ ?”  रेल किन्न पैसा नभएको अर्थ मन्त्रालयले बताएपछि रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले अब रेल चल्न नकस्ने बताए ।

उनले भने, “रेल किन्न पैसा सरकारले दिँदैन भने रेल चल्दैन । पैसा नदिएपछि रेल चल्ने कुरै भएन ।”  तर विभागले सरकारले चाहेको खण्डमा बजेट उपलब्ध गराउन सक्ने जिकिर गरेको छ । “बजेट नदिने भन्ने कुरा आधिकारिक रुपमा हामीसम्म आएको छैन ।

यदि बजेट दिन मिल्दैन वा छैन भनेको हो भने त्यस्तो होइन, चाहेको खण्डमा अर्थ मन्त्रालयले उपलब्ध गराउन सक्छ,” प्रवक्ता उपाध्याय भन्छन, “हाम्रो तर्फबाट हामी काम गर्छौं । रेल्वे लाइन हामीले भनेको समयमा तयार हुन्छ । रेल जोहो गर्ने काम सरकारको हो ।”

विभागका अनुसार ९४५ किलोमिटरको पूर्व–पश्चिम रेलमार्गको योजना बनाएको रेल विभागले सरकारले बजेट भने कम छुट्याउने गरेको गुनासो गर्दै आएको छ । चालु आर्थिक वर्षमा सरकारले ४ अर्ब बजेट छुट्याएको छ ।
बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्डमा सिभिल इन्जिनियरिङको सबै काम सकिएको छ ।

विभागका अनुसार पुल, कल्भर्ट बनाएर माटो हालेर पुर्ने काम भइसकेको छ । अब बालास्ट (गिटी) र स्लिपर ल्याउनका लागि भन्सारको सबै काम सकिसकेको छ । बाँकी लिक ल्याउने काम हो, त्यसको पनि काम भइरहेको छ । प्रवक्ता उपाध्यायका अनुसार मार्चसम्ममा काम सकिन्छ र रेल गुड्नका लागि रेल्वे तयार हुन्छ ।

बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्ड भारतीय निर्माण कम्पनी ‘इरकोन’ ले बनाएको हो । जयनगर–जनकपुरको रेल्वेको लिक ‘न्यारो गेज’ को भएकाले त्यसलाई भत्काएर नयाँ बनाइएको हो । तस्विर : गुगल