वैदेशिक रोजगार विभागमै यसरी हुन्छ ठगी

वैदेशिक रोजगार विभागमै यसरी हुन्छ ठगी


अस्थिर सरकारको मौका छोप्दै विभिन्न म्यानपाबर कम्पनीद्वारा बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै लाखौ रुपैयाँ खुला रुपमा संकलन गरेको खुलेको छ । विभिन्न दल विशेषलाई रकमको थैलि बुझाएर नेपाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका उच्च पदस्थ कर्मचारीकै सल्लाहामा म्यानपावर व्यवसायीहरुले नयाँ योजना अनुरुप ठगीधन्धा चलाएको समेत खुल्न आएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका समयमा केही कमी आएको ठगीधन्धा निर्वाचनपछि पुनः चलायमान भएको छ । देशमा रोजगार नपाएपछि बाध्यभएर विदेशी भुमीमा परिश्रम गर्न जाने युवायुबतीलाई विभिन्न लोभ देखाउदै मंहगोमा विदेश पठाउदै आएका व्यवसायीहरुले मन्त्रालय देखि विभागका कर्मचारीलाई समेत कमिशन छुट्टाउने गरेको एक उच्च स्रोतले जनाएको छ ।  सरकारले गत वर्षको जेठ २९ गतेको निर्णय अनुसार २१ साउनदेखि लागु भएको ‘फ्रि भिसा, ‘फ्रि टिकट’ को निर्णयलाई पनि करोडौ रुपैयाँको थैलि बुझाएर हटाउन सफल भएकासँगै व्यवसायीहरुले विदेशजाने युवायुवतीसंग छुट्टै रकम समेत विभिन्न नाममा असुल गर्ने गरेको पाईएको छ ।

म्यानपावर कम्पनीले सक्दो रकम असुली गरेपछि पनि चाँडो विदेश पठाईदिनेभन्दै अतिरिक्त शुल्क प्रति कामदारसंग ५ लाख रुपैयाँ सम्म असुली गर्ने गरेको गुनासो कामदारहरहरुले नै गरेका छन् । सरकारले तत्कालीन अवस्थामा लागु गरेको निर्णयअनुसार फ्रि भिसा, फ्रि टिकटमा कामदारसँग सेवाशुल्क स्वरुप १० हजार रुपैयाँ मात्र लिने पाउने व्यवस्था गरिएको थियो । तर कम्पनीले सेवाशुल्क नदिएको खण्डमा भिसा प्रकृया शुल्कभन्दै लाखौ रुपैयाँ संकलन गदै आएका छन् । लामो समयदेखि कामदारसँग अकुत पैसा उठाउँदै आएका व्यवसायीले १० हजार रुपैयाँ मात्र उठाएपछि कामदारसँग पैसा दिन बहाना खोजिरहेका व्यवसायीले भिडियो खिचेर ठग्ने गरेको पीडित कामदारको दुखेसो रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय विभागमा ठगीका उजुरी निकै नै आउने गरेका छन त्यसमा भिडियो कैद गरेर ठगेको पनि उजुरी आएको छ । कारबाही गर्न, प्रमाण नभएको भन्दै उजुरी परेको म्यानपावर कम्पनीसंग मोटो रकम लिई सो उजुरीमाथी अहिले सम्म कुनै कारवाही अगाडि बढाएको छैन ।

मलेसिया पुगेका सय जना भन्दा धेरै कामदारले डेढ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएको जनाएका छन् । मलेसिया लैजानेमा काठमाडौंको बालकुमारीमा रहेको इन्टरनेसनल म्यानपावर रहेको कामदारहरुले बताएका छन् । उनीहरुसंग १० हजारको रसिद दिएर १ लाख ५० हजार रुपैयाँ असुली गरेको दाबी गरेका छन् मलेसियाको कोलालम्पुरस्थित एक होटलका सुरक्षागार्डका अनुसार नेपालमा पनि हामी ठगीएको र मलेसियामा पनि ठगीएको गुनासो गरेका छन् । ती कामदारले नाम र होटलको नाम नलेख्ने सर्तमा भने,‘आखिर हवाई टिकटको पैसा र भिसा शुल्क बुझाएर मलेसिया आउन सकिने रैछ, तर म्यानपावर कम्पनीले विभिन्न शिर्षक देखाउदै १ लाख ५५ हजार रुपैयाँ लिएर पठायो तर यहाँ भनेजति तलव नै पाईएको छैन र सेवा सुविधा समेत छैन ।’

त्यसैगरि, मलेसियाको सेलांगर स्थित बान्डार पुन्चालम भन्ने ठाउँमा रहेको सिम्प्ले प्याकेजिङ नामको प्लाष्टिक कम्पनीमा काम गर्न आएका कामदारले आफूहरुलाई १० हजारको नगदी रसिद दिएर १ लाख ५० हजार रुपैयाँ पैसा लिएको गुनासो गरेका छन् ।

पत्रपत्रिकामा फ्रि भिसा र फ्रि टिकटको विज्ञापन गरेर कामदारलाई आकर्षित गर्ने गरेका छन् । कम्पनीमा पुगेकासंग १ लाख रुपैयाँभन्दा बढी माग्ने र मागेजति पैसा नदिए प्रक्रिया सुरु भइसकेको भन्दै म्यानपावरले पासपोर्ट फिर्ता नगर्ने गर्ने परेमा ५० हजार रुपैयाँ बुझाउनु अनी राहदानी लैजान दबाब दिने गरेका छन् ।

मलेसियाको कम्पनीले भने कुनै शीर्षकमा पैसा नदिएको भन्दै म्यानपावरले कामदारबाट पैसा असुलेको आरोप लगाएको छ । मलेसियाको कम्पनीले एक जना कामदार बराबर २५ सय रिंगिट म्यानपावरलाई बुझाएको जनाएको छ ।

नेपालका म्यानपावर व्यवसायीले भने विदेशमा रहेको कम्पनीलाई रकम बुझाउनु पर्ने भएको भन्दै सो रकम लिनु परेको नाम नबताउने सर्तमा एक व्यवसायीले जनाए । यसरी विभागका महानिर्देशक विश्वराज पाण्डेलाई सो बारे बुझ्न पटक पटक फोन गर्दा समेत उनले फोन उठाएनन् । महानिर्देशक पाण्डेले प्रति कामदार ५ हजार रुपैयाँका दरले कमिशन लिने गरि म्यानपावर व्यवसायीसंग सम्झौता समेत गरेको विभागकै एक कर्मचारीले बताएका छन् ।