रुकुममा उपभोग्य सामग्रीको चरम अभाव

रुकुममा उपभोग्य सामग्रीको चरम अभाव


वर्षाका कारण यहाँका ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध हुँदा पूर्वी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पूर्वी भेगका तकसेरा, काँक्री, महत, मोरावाङ्ग, हुकाम लगायतका ठाउँमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानको अभाव हुन थालेको स्थानीयवासीको भनाइ छ ।

पहिरोले ठाउँ ठाउँमा सडक भत्काएपछि सदरमुकाम खलंगाबाट सामान ढुवानी हुन नसक्दा अभाव भएको काँक्रीका व्यापारी गोवर्धन बुढाले बताउनुभयो । मुसिकोट, सोलाबाङ्ग लगायतका ठाउँबाट त्यस क्षेत्रमा सामग्रीको ढुवानी हुने गर्दछ । सडक बन्द भएपछि करिब एक महिनादेखि सामान ढुवानी हुन नसकेको उहाँको भनाइ छ ।

त्यस ठाउँमा अहिले नून, तेल, जिरा, मसाला, चामल, दाल लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव भएको भूमे गाउँपालिका–५ काडाका स्थानीयवासी रमेश बुढाले बताउनुभयो । स्थानीय पसलमा यी समानहरु पाउन पनि छोडेको र कुनै ठाउँमा भएपनि निकै चर्को मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । पहिले रु १५० मा आउने एक लिटर तेलको अहिले रु २३० तिर्नुपर्ने बाध्यता रहेको बुढाको भनाइ छ । यातायातका साधन बन्द भएपछि स्थानीयवासीलाई आवत जावत गर्न पनि समस्या भएको छ ।

सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने गरेको सानीभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताउनुभयो । वर्षाका कारण सडकमा पहिरो गइरहेकाले सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको जिल्ला समन्वय समितिले जनाएको छ । तर केही मर्मत गरेर सञ्चालन हुनसक्ने ठाउँमा भने तत्काल मर्मत गरिरहेको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो । रासस