ब्रेनवासको खुवी बोकेर गरिब-हितका कुरा

ब्रेनवासको खुवी बोकेर गरिब-हितका कुरा


-शोभाकर पराजुली,
लोकतन्त्र अन्त्य गर्दै तानाशाही पञ्चायती व्यवस्था लागू गर्दा तानाशाह महेन्द्रले गरिबको हित, देशको विकास, स्वतन्त्रताको रक्षा, प्रजातन्त्रको सुरक्षा भन्ने नारा दिएका थिए । उनका विचार र किताबमा कतै अन्याय गर्ने र नराम्रा कुराहरू उल्लेख भएको पाइँदैन । उनले आफ्नो विचारले जनताको र विशेषतः गरिबको हित हुने दाबी गर्दै अन्य विचारको प्रवेश निषेध गर्न भरमग्दुर प्रयत्न गरे । अन्य विचार वा सिद्धन्त भनेका जनतालाई भ्रममा पार्ने, अनावश्यक रूपमा दुःख दिएर विकास र समानताको काममा ढिलाइ गर्ने माध्यम मात्र हो भन्ने गर्दथे उनी । आफ्नो विचारलाई सुरक्षित राख्न उनले सेना, प्रहरी, गुप्तचर, मण्डले, पञ्चहरूलाई प्रयोग गरेका थिए । उनले भारत र चीनको झगडाको फाइदा पनि लिएका थिए ।
नेपालमा पनि माओवादीहरूले आफ्नो विचार सबैभन्दा राम्रो, अरूको विचार प्रतिक्रियावादी र गरिबविरोधी भनेका छन् । गलत विचारलाई बन्दुकको माध्यमबाट नै दमन गर्नुपर्छ, सत्ता बन्दुकको नालबाट आउँछ र सुरक्षित पनि बन्दुकको भरमा नै गर्नुपर्छ भन्ने आधारमा उनीहरूले हिंसात्मक आन्दोलन सुरु गरेका हुन् । मारिने र पीडित हुनेहरूको सङ्ख्या लाखौँमा भयो । त्यो दलको विचार गरिब र समाजको मुक्तिको सबैभन्दा उपयुक्त विचार हो भनेर प्रचार चर्काएकै भरमा कार्यकर्ताहरूलाई एकोहोरो बनाउँदै उनीहरूलाई मार्न र मर्न तयार गरेका हुन् । मरेमा सहिदको पगरी लगाइदिने र सहिद परिवार भनेर परिवारजनलाई अबिर लगाएर अझ मर्न र मार्न प्रेरित गर्ने कार्य माओवादीहरूबाट भएको हो । माओवादीले हिंसात्मक गतिविधि नचलाएको भए तथा शान्तिपूर्ण राजनीति गरेको भए न सुरक्षाकर्मीहरूले उनीहरूलाई मार्दथे न उनीहरूका कार्यकर्ताको ब्रेनवास भएकोले उनीहरूले अरूलाई मार्ने र घृणा गर्दै अन्य वितण्डा मच्चाउँथे ।
माओवादी, महेन्द्र, तालिवानी, मुजाहिद्दिन, तमिल टाइगर आदिमा के फरक छ त – सबैले गरिब जनताको हित गर्छर्ाा भनेका छन् । सबैले आफ्नो मात्र बाटो ठीक अरूको बेठीक भनेका छन् । आफ्नो विचारसँग असहमत हुनेलाई आक्रमण गरेका हुन् । आफ्ना मात्र विचार वास्तवमा जनहितकारी वा वास्तविक लोकतन्त्रको मान्यतामा आधारित रहेको बताएका हुन् । सबैले बन्दुक चलाउनेहरू, सुराकीहरू, डर देखाउनेहरू आदिको प्रयोग गरेका हुन् । सबैले कार्यकर्ताको ब्रेनवास गरेका हुन् । अब उनीहरूले अलग-अलग कुरालाई ठीक, आफ्नो कुरा मात्र ठीक भन्ने र त्यसमा नै मानिसलाई मर्नसमेत तयार गरेकोमा यो सत्य हो कि ब्रेनवासको माध्यमद्वारा कार्यकर्ताहरूलाई अन्याय गरेर, मर्न-मार्न तयार गरेर उनीहरूले फाइदा लिए । यसलाई ती कार्यकर्ताहरूले पनि बुझ्नुपर्छ र महसुस गर्नुपर्छ तथा समस्याको समाधान खोज्नुपर्छ ।
वास्तवमा लोकतन्त्र भनेको अरूको अस्तित्वलाई स्वीकार गर्दै आफ्नो धारणा राम्रो भन्नु हो । त्यो प्रणालीलाई आत्मसात् गर्नु हो । यसभन्दा पनि अघि बढेर हेर्दा आत्मसात्् गर्नु र स्वीकार गर्नु फरक विषय हुन् । हामीले आफ्नाविपरीत सोच राख्नेहरूलाई प्रणालीमा नै राख्ने विषय आत्मसात्् गर्नुपर्छ र त्यो लोकतन्त्रको मूल मर्म हो । विपक्षीहरूका शान्तिपूर्ण अभिव्यक्तिहरू र लोकतन्त्रकै मर्मलाई आत्मसात्् गर्दै जनताले दिएका निर्णयहरूलाई स्वीकार गर्नु लोकतान्त्रिक पद्दतिको विशेषता हो । तर, मैले माथि उल्लेख गरेका तानाशाही सोच राख्ने वादहरूले यो तथ्यलाई स्वीकार गर्दैनन् । यो कार्य लोकतन्त्र र जनविरोधी हो । यसबाट लोकतन्त्र र तानाशाहीबीचको भिन्नता बुझ्न सहयोग मिल्ने मात्र होइन बरु यिनको परिभाषासमेत बुझ्न सकिन्छ । प्रणाली आफैंमा नराम्रो हुँदैन भन्नेहरू पनि छन् । वास्तवमा नयाँ विचारलाई वैधानिक रूपमा नै भनेर रोक लगाउने प्रणाली आफैंमा अनुपयुक्त र जनविरोधी हो । अर्को शब्दमा त्यो लोकतन्त्रविरोधी हो ।
अतिवादरूपी विजको फूल आतङ्कवाद हो । अतिवादले आफूबाट बाहिर निस्केर सङ्गठित रूपमा अतिवादलाई लागू गर्न लोकतन्त्रको विरुद्धमा कार्य गर्दा त्यो आतङ्कवाद बन्दछ । लोकतन्त्र भन्नाले विश्वव्यापी मान्यताको लोकतन्त्र भन्ने बुझिन्छ । अतिवादीहरूको परिभाषाको लोकतन्त्र होइन । आफू मात्र ठीक र आफ्नो विचार मात्र ठीक भन्ने सोचको विकृत रूप आतङ्कवाद हो । कुनै पनि विचार वा विषयमा अत्यन्त गहिरो आस्था र त्यही कारणले अरूप्रति घृणा गर्नु अतिवाद हो । अरूप्रति वा अरूका विचारप्रति हिंसात्मक रूपमा आक्रमण गरिन्छ भने त्यो आतङ्कवाद हो । सर्वमान्य र सबैलाई समान रूपामा शान्तिपूर्ण अस्तित्वमा रहनका लागि स्वीकार गर्ने प्रवृत्ति आतङ्कवादीहरूको हुँदैन । उनीहरू हरेक उपलब्धिलाई आफ्नो मात्र अस्तित्वलाई स्वीकार गर्ने वा गर्नुपर्ने वातावरणको बाटोमा अगाडि बढाउन चाहन्छन् । त्यो लोकतन्त्रको विरुद्धमा छ । जनतालाई विकास र समानताको बाटोबाट ती कुरालाई फ्युजन गरेको आधारमा सम्झाएर आफ्नो पक्षमा लिने र उनीहरूलाई सिद्धान्तभन्दा व्यवहारले राम्रो गरेर देखाउने कार्यमा आतङ्कवादीहरू कमजोर हुन्छन् । उनीहरू समाजको विकासभन्दा आफूहरूले सत्ता कब्जा गर्न सक्ने आधार बढेकोलाई विकास र प्रगति सम्झन्छन् । जनतामा भ्रम बाँदछन् वा डर देखाएर उनीहरूको कुरा मान्न विवस गर्छन् । सबैभन्दा दुःखदायी विषय त यो हुन पुग्दछ कि जनता पनि लामो समयसम्म उनीहरूको दादागिरीको कारण ‘त्यही सत्य हो कि -‘ भन्ने भ्रम बोक्न पनि थाल्छन् । उनीहरूको लक्ष्य पूरा भएपछि जनतालाई उनीहरूको विचारको विरोध गर्नु अपराधजस्तो लाग्दछ र त्यसो हुनुमा उनीहरूको हठलार्इर्र्एकतर्फी प्रचारले काम गरेको हुन्छ । यसको दास आतङ्ककारीहरू आफैं हुन्छन् तर आर्थिक फाइदा लिएका हुन्छन्, उनीहरूको हातमा सत्ता र शक्ति हुन्छ । जनतासँग केवल उनीहरूको आदेश मान्ने कार्य मात्र बाँकी रहेको हुन्छ ।
आतङ्कवादीहरूको पनि आतङ्कवादी विचार रगत-रगतमा भरिएको हुँदा संसारलाई आतङ्कवादी चस्माबाहिरबाट हेर्ने क्षमता हुँदैन । राम्रोसँग नयाँ कुरा अपनाउन सक्दैनन् । यथार्थमा भन्नुपर्दा मानिसमा हुने विवेक हराउँदा उनीहरू प्राणी भएको हदसम्म मात्र मानिस हुन्छन्, मानवीयताका हिसाबमा ती मानिस भन्न सुहाउने अवस्थामा रहन्नन् ।