उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधि जलाइयो

उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधि जलाइयो


सप्तरी स्थित जिल्ला जनस्वास्थ्य कार्यालयले उपयोग गर्न मिल्ने समय बाँकी नै रहेका औषधिसमेत जलाउका छन ।

शुक्रबार दिउँसो जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले म्याद गुज्रिएको भन्दै लाखौंको औषधि जलाइएको हो तर तर, त्यससँगै उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधिसमेत जलाइएको खुलेको हो ।

जनस्वास्थ्य कार्यालयको प्रांगणमा औषधि जलाएको देखेपछि सेवाग्राही गएर हेर्दा म्याद बाँकी रहेका बिभिन्न किसिमका औषधि समेत जल्दै गरेको पाए । लगतै उनीहरुले सञ्चारकर्मीलाई बोलाए । त्यहाँ पुगेर हेर्दा प्रत्यक्षदर्शीले भनेजस्तै देखियो ।

औषधिसँगै ओछ्याउने डसनाहरु पनि जलिरहेका थिए । म्याद बाँकी रहेका औषधि समेत आगोमा डढिरहेको हेर्दा कर्मचारीहरुसँग प्रश्न गरियो, ‘किन जलाइएको ?

त्यसो त सप्तरीका धेरै स्वास्थ्य संस्थाहरुमा अहिले पनि अत्यावश्यक औषधिको अभाव छ । कुनै औषधि छँदै छैनन् भने कुनै आवश्यकता अनुसार छैन ।

तर, जिल्ला जनस्वास्थ्य कार्यालयले भने सरकारले उपलब्ध गराएको धेरै औषधि स्टोर रुममा थुपारेर म्याद गुजारेको पाइएको छ । साथै ‘एक्सपायर’ भएकासँगै उपभोग गर्ने म्याद भएकै औषधि पनि जलाएको पाइएको छ । औषधिहरु नष्ट गर्ने क्रममा मुचुल्का समेत नउठाएको भेटिएको छ ।

 

कार्यालय प्रमुख नागेन्द्रप्रसाद चौधरीले पनि अनभिज्ञता प्रकट गरे । उनले अलपत्र अवस्थामा रहेका औषधिका कार्टुनहरुलाई व्यवस्थित गर्न केही कर्मचारीलाई जिम्मेवारी दिएको बताए । औषधि जलाउनु भन्दा पहिला औषधिलाई पुनः चेक गर्नु पर्नेमा त्यसो नभएको भन्दै उनले कर्मचारीहरुको गल्ती देखाए ।

कर्मचारीहरुको भनाइ भने अर्कै छ । लामो समयदेखि रहेको औषधि प्रयोगबिहीन हुनसक्ने भन्दै माथिल्लो निकायले नै जलाउन भनेकाले जलाएको उनीहरुले बताए ।

अनौठो त के भने म्याद भएका औषधिहरु जलाउने जनस्वास्थ्य कार्यालयका प्रमुख चौधरी आफैं भन्छन् कि सप्तरीका अधिकांश स्वास्थ्य संस्थामा ‘क्यून सी’ नामक चक्कीको चरम अभाव छ । उनकै भनाइलाई मान्ने हो भने यो औषधि कम मात्रामा भएका कारण खरीद गर्ने प्रकृया शुरु गरिएको थियो ।

तर आगो लागेको ठाउँमा यो चक्की अत्यधिक फेला पर्‍यो । यो एन्टिबायोटिक चक्की रुघाखोकी, ज्वरो, निमोनियामा समेत प्रयोग हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । वर्षाको समयमा रुघाखोकी, ज्वरोबाट धेरै जना प्रभावित हुने गरेको समयमा यो औषधिमा आगो लगाउने काम भएको छ ।

अधिकांश रुघाखोकी, ज्वरो, झाडापखाला, घाउ, स्लाइन पानी जलेको छ । जलिरहेको स्थानमा फेला परेका औषधिहरुमा एनएस र डीएस स्लाइन पानी, केडि-फिक्स नाम गरेको क्यानोलाका साथै सिरिन्ज, सिनोजोलिन नामक नाकमा हाल्ने ड्रप्स, क्यून सी चक्की फेला परेका छन् ।

यसैगरी बालबालिकालाई कुपोषण हुनबाट बचाउनका लागि प्रयोग गरिने औषधि कार्टुनका कार्टुन जलाइएको छ । आगो लागेका औषधिहरुको म्याद एक वर्षदेखि दुई वर्षसम्म बाँकी रहेको देखियो ।

स्लाइन पानीको बोतल सुईले प्वाल पारेर फालेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘कुन-कुन औषधि जल्यो त ? भन्ने प्रश्नमा कार्यालयका स्टोर किपर परमेश्वर झाले झर्किँदै भने, ‘हामीसँग कति औषधि वेबसाइटमा छ हेर्नुस् ।

कार्यालय प्रमुख चौधरीले औषधि जल्नु गल्ती भएको बताएपनि यसको प्रमुख कारण स्टोर किपर भएको दाबी गरे । उनले भने, ‘के गर्ने स्टोर किपरले भनेको केहि गरिदिँदैनन् । बारम्बार बुझाउँदा पनि मिठो-मिठो कुरा गर्ने र त्यसपछि कामै गर्दैनन् ।

यो कुराको जानकारी सीडीओ सा’बलाई पनि गराएको छु । उहाँले सम्झाउँदा पनि स्टोर किपरमा कुनै परिवर्तन आएन ।’ आफू पन्छिँदै उनले अघि भने, ‘यस्तै अवस्था रह्यो भने स्टोर किपर नसुधि्रएको जानकारी दिन्छु ।’

म्याद रहेको औषधि किन जलाइयो भन्ने प्रश्नमा स्टोर किपर झा सुरुमा सूचना दिने काम हाकिम वा सूचना अधिकारीको हो भन्दै पन्छिन खोजे ।

तपाईको नाम आएको छ नि ? भनेपछि झाले भने, ‘औषधि धेरै दिनदेखि राखिएको र मुसाले काटेकोले म्याद भएका औषधिहरुलाई पनि जलाइएको छ ।’ मुसाले केही पो काट्यो होला तर, बट्टाका बट्टा औषधि किन जलाएको भन्दा उनी चुप बसे ।