निगमले थप्यो दुई र्‍याम्प बस

निगमले थप्यो दुई र्‍याम्प बस


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले शुक्रबार र्‍याम्प बस सेवाको उद्घाटन गरेका छन् । नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवालाई स्तरीय बनाउनुका साथै यात्रुहरुलाई सुविधा दिने उद्देश्यले थप २ वटा र्‍याम्प बसबाट सेवा प्रारम्भ गरेको हो ।

सो अवसरमा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ग्राउण्ड ह्याण्डलिङ सेवामा थप सुधार गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै जाने जानकारी गराए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विमानसम्म र विमानबाट निर्गमन कक्षसम्म यात्रुहरुलाई आवागमन गर्नमा यी बस प्रयोग गरिनेछन् । एकपटकमा ११० जना यात्रुलाई सेवा दिन सक्ने उल्लिखित बसहरु आधुनिक सुविधासम्पन्न रहेको निगमले जनाएको छ । जर्मनीको कोवस बेस्वाडेन कम्पनीको उत्पादन ती बसहरु निगमले माटर ट्रेडिङ कम्पनी काठमाडौंमार्फत प्राप्त गरेको हो ।

ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले राम्रो रुपमा संचालन गरेको कुरालाई कदर गर्दै आइकाओले ‘आइसागो’ प्रमाणपत्र प्रदान गरेको छ भने यी बस संचालनमा ल्याएपछि अझ स्तरीय सेवा दिन सकिने निगमको दाबी छ ।