यूकेमा फेरि यक्स फ्याक्टरको चर्चा शुरु

यूकेमा फेरि यक्स फ्याक्टरको चर्चा शुरु


लण्डन । हिजो शनिबार साँझबाट यो सालको यक्स फ्याक्टरको छनोट गर्ने प्रकृया राष्ट्रिय टेलीभिजनअन्तर्गत आईटीभी -१बाट शुरु भएको छ । लगातार सात वर्षबाट चर्चा अनि प्रसिद्धीको शिखरमा चढ्दै आएको यस यक्स फ्याक्टरले योपालि केही भिन्दै प्रकारले चर्चा पाउँदै आएको छ । कार्यक्रमको निर्णायक मण्डलीमा योपालि तीन नयाँ अनुहारहरुलाई अगाडि ल्याएको यस हिट रियालिटी सोले नयाँ पुस्तामा रुपान्तरित हुन थालेको भन्दै पत्रपत्रिकामा खबरहरुलाई सार्वजनिक गर्दै आएको छ । बेलायती गीतकार, पियानिस्ट, रेकर्ड निर्माता, तथा ब्रिटिश व्याण्ड टेक-ड्याटका चालीस वर्षीय गायक ग्यारी बार्लोव, अमेरिकी गायिका, अभिनेत्री, नर्तकी, गीतकार तथा मोडेल अमेरिकी व्याण्ड डेस्टिनी चाइल्डकी तीस वर्षीया गायिका केली रोल्याण्ड, बेलायती गीतकार, अभिनेत्री, मोडेल, ब्रिटिश हिपहप व्याण्ड एन-डब्जकी २३ वर्षीया तुलिसा कोन्टोस्टाभ्लोस र यक्स फ्याक्टरका पुरानै निर्णायक मण्डलका एक निर्णायक, जो व्वाय जोनर वेस्ट लाइफका व्याण्ड म्यानेजर रहेका थिए, ५९ वर्षीय आइरिस लुइस वाल्सको नयाँ मण्डलीलाई त्यसैले पनि नयाँ पुस्तामा रुपान्तरित भनिएको हो । कार्यक्रममा छानिएको लगत्तै ग्यारीले साइमन कोवेलको प्रतिनिधित्व गरेझैं स्पष्ट र खरो किसिमले आफ्नो निर्णयहरु दिने, तुलिसालाई त सेरिल कोलको प्रतिरुप नै मानिएको छ, जोबाट सेरिलकै जस्तै मनलाई जित्ने किसिमले निर्णयहरु दिने, अमेरिकन केलीबाट अष्ट्रेलियन डयानी मिनोगकै शैलीमा जस्तै सन्तुलित प्रतिक्रियाहरु दिने सम्भावनाका चर्चाहरु मिडियामा आइसकेको भए तापनि हिजो भएको कार्यक्रममा साँच्चैकै नयाँ तथा ताजा हावाको सञ्जिवनीजस्तै प्रसारित यो टोलीले गरेको सर्वत्र चर्चा हुन थालेको छ । यी तीन नयाँ निर्णायकहरु सम्पूर्ण रुपमा आफ्नै व्यक्तित्वका रहेका बताइएको सो प्रस्तुतिमा यद्यपि ग्यारीलाई केही मात्रामा साइमनको प्रतिनिधि भने देख्न कोही चुकेका छैनन् ।

साधारणतया प्रतिभाहरुको प्रदर्शन गर्न आउने प्रतिस्पर्धीहरुका धेरै संख्या अति नै हास्यास्पद रुपले अयोग्य देखिएकोले योपालिको यक्स फ्याक्टरबाट सर्वश्रेष्ठ प्रतिभा ल्याएर संसारलाई दिने सपना देखेका खासगरी ग्यारीको मन भने भरंग भएको भनिएको छ । कार्यक्रममा बढी मात्रामा अश्लील किसिमका गालीगलौचलगायत दृश्यहरुको पनि प्रदर्शन गरिएकोमा भने आम दर्शकहरु केही चिन्तित रहेको र त्यसको लागि आयोजक तथा निर्माताहरुले अर्को कार्यक्रममा ध्यान दिने बताइएको छ ।

यही सेप्टेम्बरबाट अमेरिकामा यक्स फ्याक्टरको अमेरिकी भर्सन प्रशारण गर्न लाग्दैका साइमन त्यसैले गर्दा व्यस्त भएकाले बेलायती भर्सनको सो कार्यक्रममा यहाँ उपस्थित हुन सकेनन् भने आफूसँगै अमेरिकी निर्णायक मण्डलीमा राख्नका लागि सेरिल कोललाई लिएर गए तापनि अमेरिकी साझेदारका साथै टिमबाट नरुचाइएकी, भाषाको समस्या देखाइएकी सेरिल कन्ट्रयाक्टबाट वहिष्कृत भएर वापस यूके फर्किएकी थिईन् तर बाराम्बार साइमनलगायतका बाट बेलायती यक्स फ्याक्टरमा पहिलेकी जसरी निर्णायक मण्डलीमा आउनका लागि गरिएको अनुरोधलाई उनले लत्याएपछि तुलिसाले सो स्थान पाएकी थिईन् । त्यस्तै अष्ट्रेलियन सुन्दरी, गायिका, गीतकार, फेशन प्रस्तोता ड्यानी मिनोगलाई भने आयोजकबाट नै योपालिको यक्स फ्याक्टरलाई निर्णय दिने मण्डलीमा नै राखिएको थिएन । बताइए अनुसार, योपालि राखिएका नयाँ निर्णायक मण्डलीहरुले स्क्रिप्टमा लेखिएका मुख्य मुख्य डायलगहरुलाई बोल्नु पर्ने भएको छ, तर विस्तारै तिनले कार्यक्रमहरुमा आफ्नो पन देखाउँदै जानेछन् ।

११ मिलियन दर्शकहरुले हेरेका हिजोको कार्यक्रम हिजो भएको बुट राउण्डमा नर्दन आयरल्याण्डको एक सानो गाउँबाट आएकी १६ वर्षीया जेनेट डेभ्लिनलाई अत्यन्तै मन पराइएको छ । हिजो भएको बुट राउण्डमा नर्दन आयरल्याण्डको एक सानो गाउँबाट आएकी १६ वर्षीया जेनेट डेभ्लिनलाई अत्यन्तै मन पराइएको छ । फ्र्यान्की कोकोजाको प्रस्तुतिको साथमा उनको नितम्बमा खोपिएका सातजना केटीहरुको नामले पनि निक्कै चर्चा पाएको छ, त्यस्तै नाच्न अनि गाउन नजान्ने तर स्फूर्तिमा उत्तम ठानिएकी हंगकंगकी गोल्डी च्योङको प्रस्तुति, किटी ब्रक्नेलको स्वर र ओभरकन्फिडेन्सन्सले पनि त्यत्तिकै चर्चा पाएको छ ।-नीर, मेस