नेशनल ट्रेडिङ लिमिटेडबाट मदिरा गायब

नेशनल ट्रेडिङ लिमिटेडबाट मदिरा गायब


नेशनल ट्रेडिङ लिमिटेडबाट रातारात मदिरा हराएको विषयले सो सस्थाको केन्द्रीय कार्यलयमा हलचल उत्पन्न भएको छ । मन्त्री र ठूला ओहोदामा रहेका कर्मचारी तथा तीनका आसेपासमा रहेकालाई दशैतिहार जस्ता ठूला पर्वमा उपहार दिन भनि राखिएका महंगा विदेशी ब्राण्डका मदिराहरु रातारात हराएपछि खैलाबैला मच्चिएको हो । असार दोस्रो साता नेशनल ट्रेडिङका कर्मचारीको मिलेमत्तोमा ती मदिरा बिक्री गरीएको तर मदिरा बिबरणमा भने पिउन योग्य नहुने गरि सडेपछि फालिएको विवरण तयार गरेको उच्च स्रोतको दाबी रहेको छ । सो सस्थाले बिक्री–वितरणका लागि भन्दै ती मदिरा बिना भन्सार गतबर्ष नै आयात गरेको थियो ।

यो सँगै आयात गरिएका चुरोट र चकलेट भने केही पनि नभएको स्रोतले जनाएको छ । सस्थाले पुरानो भएपछि प्रयोगका लागि पनि राम्रो हुने र भिआईपीहरुले पुरानै मदिरा मनपराउने भएकाले एक अर्बमा खरिद गरीएको मदिरो ५ करोड रुपैयाँको मदिरा स्टक रहेको थियो । फागुनपछि उक्त मदिरा राखिएको कोठा बन्द रहेको थियो ।

प्रशासनले तीनपटक सम्म मदिरा हराएको बिषयमा बैठक राखेर जागिरबाटै निकाल्ने धम्की दिदा समेत कर्मचारीले बिग्रिएको रक्सीको बोतलमात्र कवाडीलाई बेचेको जानकारी गराएका थिए । राजदरवार आसपासमा रहेको र बिभिन्न दुताबासमा वाइन सप्लाई गर्दै आएको एक डिस्ट्रिबब्युटरले सबैभन्दा बढि मदिरा खरिद गरेको आंशका सो सस्थामा गरिएको छ ।

सो सस्थाले २०६५ सालमा ३२ करोड मूल्य बराबरको सामान कर मिनाह गरी आयात गरेकोमा गोदाममा अझै सात करोड ७० लाख मूल्य बराबरको सामान बिक्री नभई थन्किएका छन् । ती सामानमध्ये चार करोड १७ लाख मूल्य बराबरको सामान काम नलाग्ने र तीन करोड ५२ लाख ७७ हजार काम लाग्ने अवस्थामा रहेको छ । ह्विस्की, ब्रान्डी, लगायतका पेयपदार्थ भने हराएका छन् ।

अझैपनि अन्य गोदाममा करोडौ मुल्यका मदिरा रहेको स्रोत जनाएको छ । बजारमा सहि मुल्यमा भन्दा चोरीबाट धेरै सामान बिक्री हुने र यसको हिसाबसमेत नहुने गरेका कारण नेसनल ट्रेडिङ पछिल्लो समय धराशायी बन्दै गएको छ । घाटामा गएकै कारण कर्पोरेसनले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा ३ अर्ब २५ करोडमा बेचिसकेको छ ।