प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा हालै सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा गरी आगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहनु भएको छ । केन्द्रीय सदस्यले प्रदेश नं २ मा हुने स्थानीय तह तथा त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा सुझाव दिएको नेता रामकृष्ण यादवले जानकारी दिनुभयो ।
सोबाहेक पार्टीको स्थिति सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, निर्वाचनमा जनतामाझ लैजाने कार्यसूची तथा राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी भूमिकालगायत विषयमा बैठकमा छलफल जारी छ ।बैठकमा पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रित रहेर आआफ्नो धारणा राख्नुभएको थियो ।
आज बिहानदेखि पुनः जारी बैठकमा अपराह्नसम्म पुष्पा भुसाल, ईश्वरी न्यौपाने, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किरण यादव, वीरबहादुर बलायर र मोहन बस्नेतले धारणा राख्नुभएको थियो । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजदूत नियुक्तिलगायत प्रकरणले निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेका बारेमा केन्द्रीय सदस्यले पक्षविपक्षमा धारणा राखेको युवा नेता प्रदीप पौडेलले जानकारी दिनुभयो ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका अध्यक्षतामा भएको बैठकको प्रारम्भमा वरिष्ठ नेता पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नाको कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा धारणा राख्नुभएको थियो ।

बैठकमा देउवाको आलोचना
दुई दिनदेखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांध नेताहरुले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका छन् । स्थानीय तहको चुनावमा पार्टी कमजोर भएको जिम्मेवारी पार्टी नेतृत्व लिनुपर्ने कुरा नेताहरुले उठाएका छन् । पार्टीभित्र अन्तरर्घात भयो भनेर पार्टीका सभापति जस्तो व्यक्तिले भनि पन्छेर नहुने भन्दै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएको छ ।
शनिवार शुरु भएको बैठकमा सभापति देउवाले स्वयं पार्टीभित्र अन्तरर्घात भएको विषयलाई स्वीकार गर्दै यसपटकको चुनावमा यसप्रति सचेत रहने धारणा राखेका थिए । त्यसपछि बोल्ने अधिकाँश नेताहरुले पार्टी नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राख्दै सभापतिको आलोचना गरेको बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बताए ।
आज विहान ८ वजेदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म नौजनाले आफ्नो कुरा राखेका छन् र अहिले ब्रेक भएको छ । केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, किरण यादव, केशव बहादुर बुढाथोकी, श्याम घिमिरे, रमेश लेखक, पुष्पपा भुसाल, इश्वरी न्योपाने, वीरबहादुर बलायरलगायतका नेताहरुले आआफ्नो धारणा राखेका छन् ।
नेता बडुले पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा बढी जोड दिएका थिए । चुनावमा पार्टी के कारणले कसरी कमजोर भए कहाँ कमजोर भए त्यो आफ्नो ठाउँको कुरा हो तर त्यसको मुख्य कारण पार्टीको आन्तरिक व्यवस्थापन नै रहेको धारणा राखेका थिए । ‘पार्टीको अन्तरिक व्यवस्थापन सही भए अन्तरर्घात, विद्रोह, टिकटमा धाँधली जस्ता कुरा हुनै सक्दैन’, उनले भनेको थिए, ‘पहिलो कुरा पार्टीलाई सुधार गर्नुपर्छ, सबै कुरा आफै सुध्रेर जान्छ ।’
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पनि चुनावमा पार्टी कमजोर हुनुमा अन्तर्घात र टिकट वितरण मात्र कारक नरहेको धारणा बैठकमा राखेका थिए । उनले संविधान निर्माण भएदेखि नै पार्टीले त्रुटी गर्दै आएको धारणा बैठकमा राखेका छन् । ‘संविधान निर्माणपछि पार्टीका तत्कालिन सभापतिले पुनः प्रधानमन्त्री बन्ने चाहना देखाउनु हुँदैन्थ्यो, प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पार्टी नेतृत्वले त्यसबेला गल्ति गरेकै हो’, घिमिरेले बैठकमा राखेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेले मधेशलाई गाली गरेपछि राष्ट्रवादी हुने, काँग्रेसले तराई, पहाड हिमाल सबैलाई समेटेर हिँड्छ त्यो कसरी राष्ट्रघाती हुन्छ ? यो कुरा पनि पार्टीले स्पष्ट रुपमा जनता समक्ष राख्न सकेन ।’
देश संघीयतामा गइसकेपनि पार्टीको विधान पुरानै शैलीको रहेको धारणा पनि बैठकमा उनले राखेको बताइएको । केन्द्रीय सदस्य किरण यादवले पनि टिकट वितरण प्रणालीमा सुधार ल्याउनुपर्ने कुरा राखेकी थिइन् । जो सक्षम छ, जसले जित्ने सम्भावना बोकेको छ र जनतासँग घुलमिल छ उसैलाई टिकट दिनुपर्ने उनको जोड थियो ।
यो पनि पढ्नुहोसः
प्रतिक्रिया