सोमवार मन्त्रिपरिषद् विस्तार हुनेछ : प्रचण्ड

सोमवार मन्त्रिपरिषद् विस्तार हुनेछ : प्रचण्ड


सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताए ।

प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आइतबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गुनासो गरेको पनि बताए ।

चुनाव हारको आठ कारण :

यसैबीच, पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारण माओवादीले खोजि गरेको छ । साउन २ देखि साउन ७ सम्म चलेको केन्द्रीय सचिवालयको विस्तारित वैठकबाट माओवादीले चुनाव हारको कारण खोजेको हो ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारणसहितको विज्ञप्ती पढिएको थियो । माओवादीले निम्न ८ ओटा कारणले माओवादी चुनाव हारेको ठहर गरेको छ ।
कारणहरु यसप्रकार रहेका छन :

१ वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी
२ पार्टी विभाजनको असर
३ संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध
४ बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटि
५ निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी
६ उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी
७ पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव
८ पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी