उपत्यकामा बिजुली तार भूमिगत गरिने, ग्लोबल टेण्डर आब्हान

उपत्यकामा बिजुली तार भूमिगत गरिने, ग्लोबल टेण्डर आब्हान


नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युत वितरण प्रणालीलाई भुमिगत गर्न आइतबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) को आब्हान गरेको छ ।

भूमितगत लाइनबाट विद्युत वितरण गर्न विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि बोलपत्र (ग्लोबल टेण्डर) को आब्हान गरेको  हो ।

रत्नपार्क वितरण केन्द्रमा पनि वितरण प्रणाली भुमिगत गर्न छिट्टै ग्लोबल टेण्डरको आब्हान गर्न लागेको प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए ।

प्राधिकरणले असोज ४ गते अर्थात सेप्टेम्बर २० तारिखलाई बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र आधुनिकीकरण (अटोमेसन) गरिने सिलवालले जानकारी दिए ।

उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याँक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना रहेको उनले सुनाए ।

भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरिक्त काठमाडौं उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिलवालले सुनाए ।

यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । यसमा एडीबीले १५ अर्ब रुपैयाँ बढी (१५ करोड अमेरिकी डलर) ऋण दिन सहमति जनाएको छ । यद्यपी ऋण सम्झौता हुन भने बाँकी रहेको उनले बताए । एडीबीसँग छिट्टै ऋण सम्झौता हुने उनको भनाई छ ।

बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुन सक्ने, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकसित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ ।