स्थानीय तहको निर्वाचनलाई केन्द्र तुल्याएर बसिरहेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ । शनिबारदेखि सुरु भएको कांग्रेस बैठकमा पार्टीका पदाधिकारी एवम् सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले कुनै नयाँ एजेण्डामा छलफल हुन नसकेको एक केन्द्रिय नेताले प्रस्ट्याए । उनका अनुसार सोमबारको बैठक पनि चुनावको समयमा भएका रोचक-घोचक सन्दर्भकै पेरिफेरिमा सुन्ने र सुनाउने उपक्रमलाई निरन्तरता दिँदै गुज्रिने लगभग निश्चित छ ।
आइतबारको बैठकमा केन्द्रीय सदस्य डा. नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू, एनपी साउद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राखेका थिए ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आइतबारको बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षामा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार गठन र समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको छ । बताइएअनुसार मन्त्रिपरिषदले पूर्णता नपाएको विषयमा चौतर्फी चासो र आलोचना बढेको महसुस गर्दै सत्ता साझेदारसमेत रहेका दुवै दलका प्रमुख नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिने एजेण्डामा केन्द्रित रहेका थिए । नेताद्वयको आइतबारको बैठक मन्त्रिमण्डललाई विस्तारित गर्ने विषयमै केन्द्रीत रहेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुर्य नेताबीचको छलफलमा आगामी बुधबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको बुझिएको छ ।
प्रतिक्रिया