दर्जन महिला बेच्ने ‘ठिले’ प्रहरी नियन्त्रणमा

दर्जन महिला बेच्ने ‘ठिले’ प्रहरी नियन्त्रणमा


बाह्र वर्षीया बालिकालाई भारतमा लगेर बिक्री गर्ने घ्याङफेदी–७ नुवाकोटका ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ । ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ ।

ठिलेविरुद्ध हालसम्म करिव एक दर्जन महिलालाई भारतमा लगेर बिक्री गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा परेको जिल्ला प्रहरी प्रमुख एस्पी देवबहादुर बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ ।

प्रहरीले जनाएअनुसार नुवाकोटको घ्याङफेदीसहित मकवानपुरको साविक हाँडिखोला गाविस वडा नं. १ चकरीमकरीमा बस्ने गरेका ठिलेको मुख्य पेशा मानव बेचविखन नै रहेको छ ।

नुवाकोटकी ती बालिकालाई काठमाडौँमा काम लगाइदिने भन्दै २०६५ साल वैशाखमा ठिलेसहित पाँच जनाको टोलीले भारतको कोलकत्तामा लगेर बिक्री गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । भारतीय प्रहरीले त्यहाँको एक वेश्यालयमा छापा मार्दा बेचिएको एक महिनापछि नै ती बालिकालाई उद्धार गरी ‘नेपाल गृह’ नामक संस्थाको संरक्षणमा राखिएको थियो । दुई वर्षसम्म ती संस्थाको संरक्षणमा रहेकी ती बालिका विसं २०६७ देखि काठमाडौँस्थित ‘नेपाल गल्र्स’ नामक संस्थाको संरक्षणमा बस्दै आएकी छिन् ।

नुवाकोटका दुई युवतीलाई भारतमा लगेर बिक्री गरेको प्राप्त उजुरीको आधारमा दलाल खोजी गर्दै जाँदा ठिले पक्राउ परेको प्रहरी उपरीक्षक बोहराले बताए । बालिकालाई आफूले बिक्री गरेको स्वीकार गरेकाले ठिलेविरुद्ध जिल्ला अदालत नुवाकोटमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्दा दर्ता गरेको उनले जानकारी दिए। बालिकालाई भारतमा लगेर बिक्री गर्ने कार्यमा संलग्न अन्य चार जना अझै फरार रहेकाले खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसैबीच केही दिनअघि नुवाकोटबाट दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई भारतबाट नुवाकोट ल्याउन लागिएको बताइएको छ ।