प्रहरी अधिकृत बढुवा फाइल अनुसन्धानमा

प्रहरी अधिकृत बढुवा फाइल अनुसन्धानमा


सरकारले हालै गरेको प्रहरी बढुवाको फाइलमाथिको अनुसन्धान सुरु गरिएको छ । जुनियरलाई बढुवा गरेर सिनियरलाई पाखा लगाइएको भन्दै उजुरी परेपछि बढुवा फाइलको अनुसन्धान गरिएको हो । सो अनुसन्धान पुरा नभएसम्म नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपीको बढुवा प्रक्रिया लम्बिने भएको छ ।

बढुवा सिफारिसमा नपरेका डिआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी विभूतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दिएका दिएपछि कारवाही अगाडि बढ्को हो । अब लोकसेवा आयोगले बढुवा सिफारिसमा परेका र नपरेका फाइल मगाएर छानविन गरेपछि मात्र बढुवा प्रक्रिया सुचारु हुने बुझिएको छ ।

बढुवा सिफारिसमा छानविन हुँदा पुनरावलोकन गर्दा तलमाथि गरेको पाइएमा नाम फेरिन सक्ने हुन सक्छ । गृहमन्त्रालयले आफूखुसी दरबन्दी सिर्जना गरेर बढुवा गरेको आरोप लगाउँदै वरिष्ठताका आधारमा आफूहरुको सिफारिस हुनुपर्ने भन्दै डिआइजी मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजाले असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुको आपत्ति डिआइजी रणबहादुर चन्द, विजयकुमार भट्ट, विजयलाल कायस्थहरुलाई बढुवा सिफारिस गरिएकोप्रति रहेको सम्बन्धित प्रहरी अधिकारीनिकट स्रोत बताउँछ । आचरण र चरित्रको मामिलामा चन्द र कायस्थ बेला बेलामा विवादमा आउने गरेको प्रहरी संगठनभित्र चर्चा हुने गरेको छ । कायस्थको त अख्तियारमा भ्रष्टचारको मुद्दा विचाराधीन नै बुझिएको छ । गृहमन्त्री जनार्दन शर्माले बाहिर हेर्दा बढुवामा पारदर्शिता अपनाएको देखिए पनि भित्री रुपमा वदनाम भएका र शक्तिकेन्द्र धाउनेहरूलाई प्राथमिकतामा राखेर डिआईजीहरूको बढुवा सिफारिस गरेको आरोप समेत सो उजुरीमा रहेको छ ।

ज्ञातव्य छ, पुनरावलोकन समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष रहन्छन् । सदस्यमा मुख्यसचिव र कानूनसचिव रहने व्यवस्था रहेको छ । समितिले कार्य सम्पादन मूल्यांकन, वरिष्ठता र आचरण लगायत सबै पक्ष हेर्ने गर्छन् ।

एसएसपीबाट डीआईजी सिफारिसमा आफूभन्दा दोस्रो ब्याचका व्यक्तिलाई पारिएको भन्दै सुवासचन्द्र चौधरीले उजुरी गरेका छन्। गृहमन्त्री शर्मा प्रहरी संगठनमा ठूला पदमा जथाभावी पदहरू सृजना गरेर अकुत कमाउ धन्दामा लागेको आरोप समेत लगाइएको छ । पछिल्लो समयमा आएर सामान्य कुरालाई लिएर गृहमन्त्री शर्माले प्रहरी संगठन कमजोर र भताभुङ्ग गराएको असन्तुष्ट पक्षको दलील छ ।