काँग्रेस निकट प्रेस युनियनका पत्रकार नेता फोरममा प्रवेश

काँग्रेस निकट प्रेस युनियनका पत्रकार नेता फोरममा प्रवेश


नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य अनिल तिवारी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । सेतेपाटी डटकम अनलाइन, इमेज टेलिभिजन र जनकपुर टुडेमा कार्यरत तिवारी फोरम नेपालमा प्रवेश गरेका हुन् । वीरगन्जको श्रीपुरमा रहेको फोरम नेपाल पर्साको पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पत्रकार तिवारी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

फोरम नेपालमा प्रवेश गरेपछि मन्तव्य दिदै पत्रकार तिवारीले मधेसका मागको लागि एक दशकदेखि संघर्षरत फोरम नेपाल नै मधेस र मधेसी जनताका सच्चा पहरेदार रहेको भन्दै मधेसको माग फोरम नेपालबाट नै पुरा हुने भएकाले प्रवेश गरेको बताए । मुलुकमा प्रजातन्त्र आएपछिको २८ वर्षको अवधिमा पटक पटक गरी सत्तामा कब्जा जमाउँदै आएका कांग्रेस र एमालेले मधेसका सवालमा सधै विभेद गर्दै आएको भन्दै पत्रकार तिवारीले अब मधेसको मुक्ति फोरम नेपालबाट मात्रै सम्भव भएको बताए ।

कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्धी र जिल्ला अध्यक्ष प्रदीप यादवले पार्टीको सदस्यता प्रदान गर्दै तिवारीलाइ फोरम नेपालमा प्रवेश गराए । कार्यक्रममा बोल्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले विगत दुई दशकदेखि विभिन्न सन्चारगृहमा कार्यरत पत्रकार तिवारीले एक स्वच्छ र इमान्दार छवि स्थापित गरेको भन्दै उनलाई पार्टीले सही मूल्यांकन गरेर उचित स्थान दिने बताए ।

कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादव, तराई मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगी, सचिव सलाउदीन अहमद, समाजवादी युवा फोरम नेपालका कोषाध्यक्ष अस्लम आलम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पत्रकार पवन तिवारी, अशोक तिवारी, रितेश त्रिपाठीलगायतको उपस्थिति थियो ।