नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले खलाडीको भत्ता खाएको, खेलाडीमाथि दमन गरेको, आर्थिक अपचलन गरेको, तेक्वान्दोमा ३० वर्षे तानाशाही चलाएको र राष्ट्रघात गरेको समाचार घटना र विचारमा प्रकाशित भएपछि देश–विदेशका रहेका पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षकको ध्यानाकर्षण भएको छ । उनीहरूले यो समाचारबारे सत्यतथ्यसहित आफ्नो खुलेर प्रतिक्रिया दिएका छन् । उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तै राखिएको छ ।
सरोज गुरुङ (पूर्वतेक्वान्दो खेलाडी) :
नेपालमा भएको आठौँ एसियन च्याम्पियनसिपको तयारीका लागि मैले एक महिना दक्षिण कोरियामा प्रशिक्षण गरेको थिएँ । तर, मैले उक्त प्रतियोगितामा सहभागिता जनाउन पाइनँ । दीपराज गुरुङले मेरो तौल–समूहमा नारायण गुरुङलाई खेलाएर मलाई मैले खेल्न पाउने हकबाट बन्चित गरेका थिए । यो षड्यन्त्रमा नारायण गुरुङ, यमबहादुर पुन, उत्तम पुन र दीपराज गुरुङले विशेष भूमिका निर्वाह गरेका थिए । म मेरो तौल–समूहमा जितेर आठौँ एसियनको लागि छनोट भएको थिएँ । तर, मलाई षड्यन्त्रपूर्वक खेल्नबाट बन्चित गरियो । मेरो खेलजीवन समाप्त पार्ने कार्य गरियो ।
दीपराजले मेरो मात्र नभई अन्य धेरै खेलाडीको भविष्य बिगारेको छ । यसको उदाहरण टार्जन सुब्बा हो । बार्सिलोना ओलम्पिकमा नारायण गुरुङ टार्जनसँग हारेको थियो । तर, टार्जन मजस्तै षड्यन्त्रको सिकार भयो । यो कुरा तेक्वान्दोका प्रायः सबै गुरुलाई थाहा छ । त्यसैले १२औँ सागमा राष्ट्रघात भएको हो भनेर दीपराजविरुद्ध मुख्य प्रशिक्षक ध्रुव गुरुङले हालेको उजुरी शतप्रतिशत सत्य हो जस्तो मलाई लाग्छ ।
अर्को कुरा नेपालमा भएका हरेक राष्ट्रिय तथा क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा दीपराज गुरुङले राष्ट्रिय खेलकुद परिषद्को भत्ता मिलाएर आफ्ना गुरु भारतीय नागरिक पेमा भुटियालाई बोलाउने गर्दथे । नेपालले आयोजना गरेको आठाँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा पनि दीपराजले आफ्ना गुरु पेमालाई नेपाल बोेलाएर नेपाली अफिसियल बनाएका थिए । आठौँ साफको क्रममा एउटा खेल नेपाल र भुटानबीच भएको थियो । जुन निकै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण थियो । कसले जित्छ त्यसको अनुमान लगाउन कठिन थियो । उक्त खेलको रेफ्रीको भूमिका अमिर श्रेष्ठले निभाएका थिए । उक्त खेलको नेपाली अफिसियल बनेर पेमा पनि त्यहाँ पुगेका थिए । अन्त्यमा नेपालले उक्त खेल जित्यो । तर, त्यो खेलमा भुटानलाई जिताउन पेमाले दीपराजलाई मेरैअगाडि दबाब दिएका थिए । किनकि पेमा नेपालको भत्ता खाएर भारत कि भुटानलाई जिताउन आएका थिए । यसकारण मलाई त्यतिखेर नै यी दुईको नियतमाथि शङ्का लागेको थियो । दीपराज कागजमा नेपाली भए पनि मन त भारती हो । यसमा कसैको दुईमत छैन ।
दीपराज गुरुङको नागरिकता र पासपोर्ट कसरी बन्यो त्यसको पर्दाफास हुनुपर्छ । मलाई थाहा भएअनुसार दीपराजको नागरिकता तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाहको ठाडो तोकआदेशमा बनेको हो । डेनमार्कमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाँदा दीपराजको नागरिकता नभएको कारण उनी जान नपाउने भएपछि शाहको ठाडो तोकआदेशमा उनको नागरिकता र पासपोर्ट बनाइएको हो । त्यसबेला शाहले घर कताभन्दा दीपराजले झापा भनेर नागरिकता र पासपोर्ट बनाएर खेल्न जान पाएका थिए । तर, दिनेश राईले घर दार्जिलिङभन्दा नागरिकता बन्न सकेन र खेल्न जान पनि पाएनन् । साँचो रूपमा भन्नुपर्दा दीपराज पनि दार्जिलिङका भारतीय नागरिक हुन् । शाहको आशीर्वादले नेपाली नागरिकता लिएर नेपाली नागरिक बन्न सफल भएका हुन् । त्यसबेलाका वीरगन्जका अमर श्रेष्ठ, सीमा सुवेदी र दीपराज उही मार्काका हुन् ।
अहिले एउटै व्यक्तिले तेक्वान्दोलाई हिटलरको पाराले चलाएको ३०औँ वर्ष भो । अब एउटै विकल्प बाँकी छ, दीपराजलाई तेक्वान्दोबाट हटाउनुपर्छ । राखेपले उनको विशेष रूपमा छानबिन गर्न जरुरी छ । नेपाली तेक्वान्दोको कल्याण यसैमा छ ।
अमिर श्रेष्ठ (पूर्वतेक्वान्दो खेलाडी ) :
दीपराज गुरुङले खेलाडी प्रशिक्षक तथा निर्णायकहरूको भत्ता खाएको कुरामा दुईमत छैन । भत्ता खाने गरेको कुरा साँचो हो । धनगढीमा भएको एक तेक्वान्दो प्रतियोगितामा म रेफ्री थिएँ । प्रतियोगिता सकिएपछि आयोजक कमिटीलाई मेरो भत्ता माग गरेँ । आयोजक कमिटीले मलाई भन्यो– सबैको भत्ता दीपराज गुरुङले एकमुष्ट बुझिसक्नुभएको छ, उहाँले नै सबैलाई दिनुहुन्छ । काठमाडौं आएपछि दीपराज गुरुङसँग मैले मेरो भत्ता माग गरेँ, तर सबैलाई एकैैचोटि दिन्छु भन्ने जवाफ पाइयो । त्यो मैले रेफ्री गरेको २०–२५ वर्ष बितिसक्यो, आजसम्म पनि मैले त्यो भत्ता पाएको छैन । यसमा कुनै कारबाही होला जस्तो पनि लाग्दैन । कारबाही गर्नलाई विनोदशंकर पालिखेजस्तो सदस्यसचिव चाहिन्छ ।
दिवाकर महर्जन (पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक) :
यो नेपाली तेक्वान्दो परिवारका लागि निकै दुःखद समाचार हो । म सिनियरहरूलाई सम्मान गर्छु, तर एउटै व्यक्तिले ३० वर्षसम्म कुनै पनि संस्था हाँक्नु राम्रो होइन । त्यसको दूरगामी परिणाम नकारात्मक हुन्छ । त्यो कुरा तेक्वान्दो सङ्घमा पनि लागू हुन्छ । यसर्थमा कि एउटै व्यक्तिले लामो समयसम्म संस्था चलाउँदा त्यहाँ तानाशाह जन्मिने खतरा हुन्छ । त्यसैले समयअनुसार चल्नु नै संस्था र व्यक्तिका लागि राम्रो हुन्छ । तेक्वान्दोको सुन्दर भविष्य, विकास र विस्तारका लागि हरेकलाई बोल्ने अधिकार छ । उचित समयमा बोल्नुपर्छ पनि । त्यो कुराको तेक्वान्दोका शुभचिन्तकहरूले हेक्का राख्नुपर्छ ।
– श्रीविक्रम भण्डारी
प्रतिक्रिया