‘र’को एजेण्ड बनेर रकम माग गर्ने गिरोह पक्राउ

‘र’को एजेण्ड बनेर रकम माग गर्ने गिरोह पक्राउ


भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिनुभयो । उनीहरुलाई साउन ९ गते सोमबार राजधानीको बसपार्क नजिकै रहेको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

यसरी पक्राउपर्नेमा धादिङ ज्वालामुखि गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत र २० वर्षीय मनोज श्रेष्ठ तथा सोही गाउँपालिका वडा नं १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये मुख्य योजनाकार रहेको ईश्वर बस्नेत भने विसं २०६४ देखि २०६८ मा सशस्त्र प्रहरी बल सानो गौचरण काठमाडौँमा सशस्त्र प्रहरी जवानमा कार्यरत थिए । त्यसपछि जागिर छाडेका उनी गाउँमा ठेक्कापट्टामा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीको मध्य क्षेत्रीय प्रहरी अनुसन्धान, महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ, जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको विशेष टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुले चितवनमा कार्टुन र कागज उत्पादन गर्ने उक्त उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई रु ५० लाखसम्मको रकम माग गरेको प्रहरीले पत्रकारलाई जानकारी दिएको छ । उद्योगपतिको नाम भने खुलाइएको छैन ।

प्रहरीको अनुसन्धान टोलीले दिएको जानकारीअनुसार १५ दिनदेखि उनीहरुले सो उद्योगमा आई अनुसन्धान गरेर वस्तुस्थिति बुझेका थिए । रासस