मानव बेचबिखनको आरोपमा चार पक्राउ

मानव बेचबिखनको आरोपमा चार पक्राउ


नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार खरानीटारबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट मृत्यु

यसैबीच, एक अर्को घटनामा दुप्चेश्वर–५ समुन्द्रटार कामचोकमा कुटपिटबाट ३२ वर्षीय कुमार तामाङको मृत्यु भएको छ । कुटपिटमा संलग्न तामाङका छिमेकी ४४ वर्षीय दीपक तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । मङ्गलबार दीपक र कुमारबीच घरायसी विषयमा विवाद हुँदा दीपकले कुमारलाई कुटपिट गरेका थिए । दीपकको कुटाइका कारण कुमारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । रासस