वीर अस्पतालको सेवा सर्वोत्कृष्ट तुल्याउन प्रधानमन्त्रीको आग्रह

वीर अस्पतालको सेवा सर्वोत्कृष्ट तुल्याउन प्रधानमन्त्रीको आग्रह


नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताए । गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने आवश्यकतामाथि उनले विशेष जोड दिए । नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको वीर अस्पतालले सोअनुरुपको सेवा र सुविधा प्रदान गर्न अहम् भूमिका खेल्नुपर्ने धारणा उनको थियो ।

वीर अस्पतालले स्थापनाकालदेखि नै बिरामीको स्वास्थ्य उपचारमा दिएको योगदान प्रशंसायोग्य रहेको भन्दै प्रधानमन्त्रीले चिकित्सकीय जनशक्ति उत्पादन गरी देशका कुनाकाप्चामा यसले उपचार सेवा दिएको र सबैलाई स्वदेशकै उपचार राम्रो हुन्छ भन्ने विश्वास बढाउन समेत भूमिका खेल्ने आशा व्यक्त गरे ।

सोही अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वीर अस्पताल देशभरका जनताको विश्वासिलो अस्पताल भएकाले संविधानमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने बताए । भूकम्पपछि पुनःनिमार्णलाई अघि बढाउँदै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवाको गुणस्तरीय वृद्धिका लागि चाहिने अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्ने काम प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वीरमा भन्दा राम्रो जनशक्ति अन्य अस्पतालमा नभएकाले यसले प्रदान गर्ने उपचार सेवा अन्यको तुलनामा उत्कृष्ट हुनुपर्ने धारणा अघि सारे ।

स्मरण रहोस्, विसं १९४७ साउन १२ गते १५ शय्याबाट सञ्चालनमा ल्याएको वीर अस्पताल हाल ४ सय ६० शय्यामा विस्तार भएको छ ।