यस्तो लक्षण देखिए उपेक्षा नगर्नुस्, हुन सक्छ हेपाटाइटिस ‘डी’

यस्तो लक्षण देखिए उपेक्षा नगर्नुस्, हुन सक्छ हेपाटाइटिस ‘डी’


के तपाईंलाई वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दाँया कोखामा अप्ठेरो हुने जस्ता लक्षण देखापरेको छ ? त्यसो हो भने ग्यास्ट्रिक भएको अनुमान गरेर नबस्नुस् । राजधानीमा यतिबेला हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको चिकित्सकहरुले बताएका छन् । र, उपरोक्त लक्षण हेपाटाइटिस ‘डी’को हुन सक्छ, त्यसैले चिकित्सककहाँ गई जँचाउन ढिला नगर्नुस् ।

विभिन्न प्रकारका हेपाटाइटिसमध्ये हेपाटाइटिस ‘डी’बाट बढी संक्रमित भइरहेको छ, तरमानिसहरुले यसबारे धेरैले ध्यान दिएका छैनन् । यस विषयमा बहस गर्नुपर्ने समय आएको सम्बद्ध चिकित्सकहरुको सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘डी’का संक्रमित आउने गरेका छन्, यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेका छन् ।

सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘डी’को संक्रमण भेटिएको उनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेको छ ।

विश्वमा मुख्य पाँच हेपाटाइटिस देखिएका छन्– हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ । यी सबै हेपाटोट्रोपिक नामक भाइरसबाट लाग्छ । यो भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो । रोग लागेपछि कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने र पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ ।

गर्मीमा देखिने हेपाटाइटिस ‘इ’अर्थात् भाइरस हेपाटाइटिसले गर्भवतीलाई बढी असर गर्ने विञहरु बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवतीको मृत्युमध्येको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘इ’ अर्थात् भाइरस हेपाटाइटिसको कारणबाट हुने गरेको छ ।

हेपाटाइटिस ‘ए’ र ‘इ’ प्रदूषित पानी, संक्रमित मानिसको दिसा, राम्ररी नपाकेका खानेकुरा खाँदा र ¥यालबाट पनि सर्न सक्छ । वर्षातको पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो विद्यालयका बच्चा र भीडभाड हुने स्थानमा बढी देखिन्छ । एउटै शौचालय प्रयोग गर्दा, सरसफाइ नहुँदा र दूषित पानी प्रयोग गर्दा रोग फैलन सक्ने सम्भावना रहन्छ । काठमाडौँ जस्तो शहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा रोगको महामारी फैलन सक्ने खतरा सधैँ रहेको चिकित्सकले बताउँदै आएका छन् ।