चोखो रहेन बीपीको नाममा खुलेको प्रतिष्ठान पनि

चोखो रहेन बीपीको नाममा खुलेको प्रतिष्ठान पनि


भौतिक पूर्वाधार निर्माण उपकरण खरिदलगायत विषयमा आर्थिक अनियमितता भएको भनी बारबार उजुरी परेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले छापा मारेको छ । विहिबार गरिएको छापामारीसँगै आयोगले सो प्रतिष्ठानको आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानको अर्बुद तथा मुटु उपचारसम्बन्धी भवनका लागि परार्मशदाता नियुक्ति तथा एमआरआई मेसिन खरिद प्रक्रियामा करोडौँको आर्थिक हिनामिना भएको सरोकारवाला निकायले आशंका गरेको छ । लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका आधारमा अनुसन्धान गरिरहेको आयोगले प्रहरी नायब निरीक्षक रमेश बस्नेत नेतृत्वको टोली पठाएर छापा मारेको हो ।

बताइएअनुसार एमआरआई मेसिन खरिदसम्बन्धमा बोलपत्र आह्वान गरिए पनि फिलिप्स कम्पनीको मात्र बोलपत्र परेको भन्दै प्रतिष्ठानले १२ करोडमा पाइने १.५ टोस्ला मेसिनलाई १६ करोडमा खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको उजुरी परेको थियो । यसमा स्पष्टिकरण दिनुको साटो प्रतिष्ठानले जतिसक्दो चाँडो खरिद प्रक्रिया सम्पन्न गर्ने नियत राखेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।