पोर्चुगलमा रोजगारीको प्रलोभन दिएर ठगी

पोर्चुगलमा रोजगारीको प्रलोभन दिएर ठगी


विदेशमा आकर्षक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने घटना नेपाली समाजमा नौलो होइन, तर यसरी ठग्ने र ठगिने क्रममा भने कमी आएको पाइन्न । विडम्बना त यो छ कि वैदेशिक रोजगारीको प्रलोभनमा ठगिनेमा सोझासाधा नागरिक जति ठगिन्छन्, शिक्षितहरुको संख्या पनि कम छैन ।

यसै क्रममा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–१३ धापासी बस्ने टोखा नगरपालिका–११ गोंगबुस्थित गामा ट्राभल्स एण्ड टुर्सका संचालक रोल्पा, सुनछहारी गाउँपालिका–२ का ३२ वर्षीय जयप्रकाश वुढामगरलाई काठमाडौं नयाँबसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । उनले मासिक तलब ८० हजार रुपैँया हुन्छ, आरामले पोर्चुगल पठाइदिन्छु भन्ने जस्ता अनेक प्रलोभनमा पारी केही युवालाई विश्वास दिलाएर १२ लाख रुपैँया असुलेका थिए । यसरी रकम लिई दुवईमा २ महिना ३ दिनसम्म राखी दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा भिषा नक्कली रहेको भनी आफूलाई पक्राउ गरी नेपाल फिर्ता पठाएको तथा ठगले पुनः दक्षिण अफ्रिका पठाउँछु भन्दै विभिन्न बहाना र आलटाल गरी ठगी गरेको भन्ने पीडितको उजुरी थियो । यसैको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बुढामगरलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महाशाखाले बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ । निजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने विषयमा अनुसन्धान कार्य जारी रहेको उक्त महाशाखाले जनाएको छ ।

यसैगरी, सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने दुई जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मैतीदेबी बस्ने मोरङको उर्लाबारी–७ का ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सितापाइला रामकोट–७ बस्ने रिना थापा मगर रहेका छन् ।

दिनेश र रिनाले फेसबुकमा नक्कली खाता खोली काठमाडौं बसुन्धारा बस्ने मोरङ उर्लाबारी–७ की २० वर्षीया महिलालगायत अन्य साथीभाइ तथा आफन्तजनलाई विगत एक वर्षदेखि निरन्तर रुपमा फेसबुकमार्फत अश्लिल मेसेज र फोटोहरु प्रेषित गरी चरित्र हत्या गरेर मानसिक पीडा दिएको उजुरीमा उल्लेख रहेको प्रहरीको भनाई छ । यसरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अनुसन्धानबाट खुल्न आएपछि दिनेशलाई मैतीदेबीबाट मंगलबार तथा रिनालाई सितापाइला रामकोटबाट गत सोमबार उक्त ब्युरोको प्रहरीले पक्राउ गरेको हो ।