गृहमन्त्रीको निर्णय मान्दैनौँ : अध्यक्ष गुरुङ

गृहमन्त्रीको निर्णय मान्दैनौँ : अध्यक्ष गुरुङ


नेपाल बैदेशिक रोजगार व्यवसायी संघले गृहमन्त्री जनार्दन शर्माले गठन गर्न लागेको ‘स्पेशल फोर्स’ को विरोध गरेको छ । गृहममन्त्री शर्माले अन्तर्राष्ट्रिय श्रम समितिमा राखेको भनाइ प्रति संघको विरोध रहेको जनाएको छ । संघका अध्यक्ष रोहन गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्,‘बैदेशिक रोजगारीको नाममा नेपाली बेरोजगार यूबाहरुलाई बिभिन्न प्रलोभन देखाई खुला बोर्डर वा सेटिंग मार्फत बिदेश पु¥याई बिचल्लीमा पार्ने वा राहदानी र रकम असुल्ने जस्ता कार्य गरि ठगी गर्ने बिचौलियाहरुलाई कारबाही गर्न ब्यूरो गठन गर्न खोजिएको हो भने संघले स्वागत गर्दछ ।’ उनले अगाडि लेखेका छन्,‘ यदि सरकारद्वारा इजाजत लिई बैरो ऐन २०६४ को अधिनमा रही जिम्मेबारी बहन गरी रोजगारमा पठाउनेमाथी नै सो फोर्सले दुख दिने हो भने सो कार्यको संघ गम्भीर खेद प्रकट गर्दछ ।’

 

उनले बार्षिक ५ लाख बेरोजगार नेपाली यूबाहरुलाई बैदेशिक रोजगारी दिलाई देशको अर्थतन्त्रमा ३ सय २५ योगदान पु¥याई ७ खर्ब रेमिटयान्स भित्राउन सहयोग गरी रहेका इजाजत पत्र प्राप्त ब्यावसायिहरुलाई ठगको लांछना र आरोप लगाई ब्यवसायी हरुलाई बदनाम बनाउन खोजिएको हो भने उक्त सोच र कार्यको संघले सो कदापी मान्न तयार नहुने समेत उल्लेख गरेका छन् ।  सरकारले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवाहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाउने तयारी गरेको छ ।

गृहमन्त्री शर्माले विदेशमा रोजगारी दिने बाहानामा ठग्ने क्रम बढेको भन्दै त्यस्तालाई तह लगाउन विदशेमा अलपत्र परेकाको उद्धाका लागि पहल गर्न प्रहरीको विशेष फोर्स परिचालन गरिने बताएका हुन । मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भने, ‘ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ, उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिइने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’ मन्त्री शर्माले भने,‘फ्री भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं, दलालहरुले त्यहि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र लाख–लाख रुपैयाँ असुलिरहेका छन् ।’