वार्ता नमिलेपछि लम्बियो गोविन्द केसीको अनसन

वार्ता नमिलेपछि लम्बियो गोविन्द केसीको अनसन


संसदमा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच शनिबार शिक्षा मन्त्रालयमा भएको दोस्रो चरणको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भन्दै प्रधानमन्त्री, शिक्षा तथा स्वास्थ्यमन्त्रीस्तरबाटै सहजीकरण गराउन पहल भइरहेको बताएपछि वार्तामा सरिक भएका केसीपक्षीय सदस्यहरु भड्किन पुगेका थिए ।

तर, सचिव श्रेष्ठले ँविधेयक संसदमा छलफलमा छ, विधेयकमा थप्नुपर्ने, संशोधन गर्नुपर्ने विषय राजनीतिक रुपमा पनि समाधान खोज्नुपर्ने देखिन्छ, जतिसक्दो चाँडो विधेयक पारित गराई अनशन बस्ने अवस्था आउन नदिनेतिर पहल भइरहेको छु भन्दै अनसनकारी पक्षलाई आश्वस्त तुल्याउन खोजेका थिए ।

उनको कुरा सुनेपछि केसी पक्षका वार्ता टोली सदस्य डा.अभिषेकराज सिंहले वार्तामा खटिएको सरकारी पक्ष नै बहसको विषय आफ्नो दायराभन्दा बाहिर रहेको भन्छ भने वार्ता कसरी अघि बढ्छ त भन्ने प्रश्न गरेका थिए ।

वार्तामा शिक्षा सचिव श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. विनोदमान श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीनाथ मैनाली र डा.केसीका तर्फबाट प्राडा वाइपी सिंह, डा.अभिषेकराज सिंह, डा.जीवन क्षेत्री, डा.रञ्जन सापकोटा र डा सुमन आचार्य वार्तामा सहभागी थिए ।

तत्काल माथेमा प्रतिवेदनअनुरुप दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित, आइओएममा तत्काल डीनको सिफारिसअनुसार सहायक डीन र क्याम्पस प्रमुख नियुक्ति आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आइओएममा फिर्तालगायतका माग गर्दै डा.गोविन्द केसी गत साउन ९ गतेदेखि ११औँ अनशनमा छन् ।