एमालेले यसरी गर्‍यो चुनाव भिड्ने तयारी

एमालेले यसरी गर्‍यो चुनाव भिड्ने तयारी


२ नम्बर प्रदेशको निर्वाचनलाई ‘जीवन–मरणको सवाल’ बनाइएको काङ्ग्रेस नेताका अभिव्यक्ति सार्वजनिक भइरहेकै बेला नेकपा (एमाले)ले पनि सो प्रदेशको चुनावप्रति आफ्नो खास ध्यान रहेको सन्देश प्रवाहित गरेको छ । नेकपा (एमाले) स्थायी कमिटीको आज बसेको बैठकले तेस्रो चरणको स्थानीय तह निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनकै अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाउनुका साथै पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस तथा रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवार तय गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभाग सचिव योगेश भट्टराईका अनुसार जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखहरूमा प्रमुख– पे्रमबहादुर खड्का, उपप्रमुख– दीपा पाख्रिन (रामेछाप), प्रमुख– कुलप्रसाद भट्ट, उपप्रमुख– छोपेमा तामाङ्नी (रसुवा), प्रमुख– रघुनाथ खुलाल, उपप्रमुख– भगवती पुडासैनी (मकवानपुर), प्रमुख– नवराज गेलाल, उपप्रमुख– सरिता कुँवर (भक्तपुर), प्रमुख– शेरबहादुर बुढा (डोल्पा), उपप्रमुख– कुलबहादुर गिरी (सल्यान), प्रमुख– पे्रमबहादुर शाही, उपप्रमुख– सरिता आचार्य (कालिकोट), प्रमुख– गोरे कार्की, उपप्रमुख– कमलादेवी शाही (जाजरकोट), उपप्रमुख– खगेन्द्र कार्की (हुम्ला), प्रमुख– टोपबहादुर राजकोटी, उपप्रमुख– दीपा मल्ल (सुर्खेत), प्रमुख– पुर्णबहादुर रोकाय, उपप्रमुख– कर्णशिला मल्ल (मुगु), प्रमुख– बबी चाम्लिङ, उपप्रमुख– गोमा खत्री (खोटाङ), प्रमुख– गणेश बराल, उपप्रमुख– चित्रकला बराइली (इलाम) र प्रमुख– खड्गबहादुर खड्का, उपप्रमुख– भागिरथी अवस्थी जोशी (बझाङ) चयन गरिएका छन् । काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नाममध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरेर उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको एमालेले जनाएको छ ।
कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ । थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न भन्दै एमाले स्थायी कमिटीको बैठक भोलि पनि पार्टी केन्द्रिय कार्यालयमा बस्ने बताइएको छ ।
बालकोटमा भएको बैठकमा अध्यक्ष ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी गराएका थिए । त्यसक्रममा आफूले लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराइएको ओलीले जानकारी गराएका थिए । त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोच रहेको ओलीको भनाई थियो । नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत चिनियाँ प्रतिनिधिहरूको ध्यानाकर्षण गराइएको पनि अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका थिए ।