एसियाकै ठूलो क्याम्पमा चिनियाँ सैन्य परेड (फोटो फिचर)

एसियाकै ठूलो क्याम्पमा चिनियाँ सैन्य परेड (फोटो फिचर)


चिनियाँ जनमुक्ति सेना स्थापनाको ९० औँ वर्षगाँठको अवसरमा चीनले आफ्नो सैन्यशक्तिको प्रदर्शन गरिरहेको छ ।

छिमेकी मुलुक भारतसँग सीमाको विषयलाई लिएर तनाव बढिरहेको अवस्थामा भित्री मंगोलियाको प्रशिक्षण बेसमा गरिएको यो प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि, चीनको रक्षामन्त्रालयले भने यो प्रदर्शन पछिल्लो अवस्थासँग सम्बन्धित नभएको र यसको तयारी वार्षिक कार्यक्रम अनुरुप नै गरिएको प्रष्ट पारेको छ ।

राष्ट्रपति सी जिनपिङ, जो केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन्, ले आइतबार बिहान झुरिहे कम्बाइन्ड ट्याक्टिस ट्रेनिस बेसमा गरिएको उक्त प्रदर्शनको अवलोकन गरे ।

पिएलएको सबैभन्दा आधुनिक तथा एसियाकै सबैभन्दा ठूलो क्याम्पमा सैन्य परेड गरिएको यो पहिलो अवसर हो ।

यसमा करिब १२ हजार सैनिक तथा ६ सयभन्दा बढी सैन्य हतियार तथा मिसाइलहरुको प्रदर्शन गरिएको थियो । त्यस्तै १ सयभन्दा बढी प्रकारका जहाजहरुको पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ देशको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै देशको सीमाभित्र घुसपैठ गर्न खोज्नेहरुलाई परास्त गर्न सक्ने क्षमता राख्ने बताए ।

उनले जनमुक्ति सेना अब विश्वकै उत्कृष्ट सैन्यशक्ति बन्नुपर्नेमा जोड दिए । न्यूज सिएन, बेइजिङ