खनालमाथिको कारवाहीमा सदस्यसचिवले किन कँपाए खुट्टा ?

खनालमाथिको कारवाहीमा सदस्यसचिवले किन कँपाए खुट्टा ?


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले खनाललाई कारवाही गर्न खुट्टा कमाएपछि छानविन कमिटीले गरेको सिफारिस अन्योलमा परेको छ । राखेपका वरिष्ठ अधिकृत कमल खनालको नियुक्ति कीर्ते भएको समाचार प्रकाशित भएपछि राखेपले छानविन समिति गठन गरेको थियो । पाँच सदस्यीय छानविन समितिको अध्यक्ष राखेपका सदस्य देवकुमार अधिकारी (बद्री) थिए । उक्त समितिले गत महिना खनालको विषयमा छानविन गरी राखेपमा प्रतिवेदन बुझाएको थियो । यसपछि राखेपले खनाललाई १५ दिनको सफाईको मौकासमेत दिएको थियो । अहिले राखेपले दिएको उक्त म्याद सकिएको एक साताभन्दा बढी भइसकेको छ ।

प्राप्त जानकारीका अनुसार छानविन समितिले राखेपमा पेश गरेको प्रतिवेदनमा कमल खनालको नियुक्ति सत प्रतिसत किर्ते भएको खुलासा भएको छ । त्यसैको आधारमा खेलकुदका कर्मचारीहरूले कमल खनाललाई कारवाही गर्न सदस्यसचिव विष्टलाई दबाब दिए पनि विष्टले खनाललाई कारवाही गर्नेतर्फ कुनै पहलकदमी नगर्नु शंकाको घेरामा परेको छ । कारवाहीको लागि आफै छानविन समिति बनाउने तर कारवाही गर्न खुट्टा कँपाएपछि यतिबेला खेलकुदमा विष्टको निकै आलोचना भइरहेको छ । यसले गर्दा भविष्यमा पनि विष्टले कारवाहीको प्रक्रियालाई अगाडि बढाउने कुरामा शंका गरिन थालिएको छ । स्मरणीय छ, खनालको नियुक्ति कीर्ते भएको विधिविज्ञान प्रयोगशालाले समेत प्रमाणित गरिसकेको छ ।

कीर्तेको भरमा दुई दशकभन्दा बढी समयदेखि राखेपको जागिर खाइरहेका खनालले राखेपमा द्वित्तिय श्रेणीमा नियुक्ति लिएका थिए । राखेपको ऐन–नियममा द्वित्तिय श्रेणीमा नियुक्ति गर्ने कहिँ व्यवस्था छैन । तर, शक्तिको आडमा खनालले राखेपको टिप्पणीमा गैरकानुनी रूपमा आफ्नो नाम घुसाएर अहिलेसम्म जागिर खान सफल भएका छन्, जुन आफैमा गैरकानुनी भएको कसैबाट छिपेको छैन । जसलाई राखेपद्वारा गठित छानविन समितिले समेत लालमोहर लगाइसकेको छ ।

यतिबेला कीर्ते खनाल’लाई जोगाउन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रन्जन थापासहितको टोली ज्यान छोडेर लागेका छन् । यसको प्रमाणको रूपमा राखेपले युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीको सम्मानमा राखेपले आयोजना गरेको स्वागत कार्यक्रममा थापाले गरेको भाषण र प्रदर्शन गरेको हर्कतबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । सो अवसरमा थापाले संचारमाध्यममा आएको समाचारको आधारमा कीर्ते गर्ने कमल खनाललाई कारवाही गर्न नमिल्ने बताएका थिए । थापाले संचारकर्मी र संचारमाध्यमको समेत व्यापक आलोचना गरेका थिए । उनी यसरी कुर्लेको देख्दा एक सहायक स्तरका कर्मचारीले यसरी मुख फोरे– ‘सहायक स्तरको प्रशिक्षक, म्याद सकिएको अध्यक्ष र बुथ कमिटीबाटै हारेको व्यक्तिको यत्रो फुर्ति ! अलि हजम भएन, सर… हजमोला छ कि, पाउँ न !’