संविधानसभाको निर्वाचनले भेनेजुएला आन्दोलित

संविधानसभाको निर्वाचनले भेनेजुएला आन्दोलित


संविधानसभाको निर्वाचनमा जम्मा ४१.५ प्रतिशत मतदान भएपछि भेनेजुएलामा विवाद झन् बढेको छ । त्यहाँको विपक्षी दलले यसै पनि निर्वाचन बहिष्कार गरेका थिए भने निर्वाचन अधिकारीहरुले पनि संविधानसभाको निर्वाचनमा पचास प्रतिशतभन्दा पनि निकै तल मतदान भएको सार्वजनिक गरेका छन् । निर्वाचनलाई अवैध भन्दै आएका विपक्षी दलले सो जानकारीपछि ८८ प्रतिशतले मतदान बहिष्कार गरेको तर्क गरेका छन् ।

मुख्य विपक्षी दलले निर्वाचनको नतीजा अस्वीकार गर्दै सोमबारदेखि थप विरोध प्रदर्शनका लागि आह्वान समेत गरेपछि आन्दोलन चर्किएको एएफपीले जनाएको छ । आफूले पाएको मतको स्वागत गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने सो निर्वाचनलाई एक क्रान्तिको रुपमा लिएको बताएका छन् । राष्ट्रपति मादुरोले उक्त मतदानलाई प्रजातन्त्रको उदाहरणका रुपमा लिए पनि विपक्षीले चाहिँ उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप लगाएका छन् ।

आइतबार सम्पन्न संविधानसभा निर्वाचनको मतदानका क्रममा व्यापक हिंसा भएको थियो । त्यस हिंसामा परी कम्तीमा पनि १० जना मारिएको समाचार आएको थियो । सोमबार पनि दिनभर सडकमा सरकार विरोधी प्रदर्शन र हिंसा भएको थियो भने मंगलबार पनि आन्दोलन जारी छ । निर्वाचनलाई विजय मान्न सकिन्छ कि सकिन्न भन्ने बारेमा भेनेजुएलामा राम्रै बहस सुरु भएको छ ।

यसैबीच विपक्षी दलका दुई नेतालाई मंगलबार पक्राउ गरिएको छ । उनीहरुको पक्राउपछि आन्दोलन थप बढ्ने अनुमान गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । ती दुई विपक्षी दलका अत्यन्त प्रभावशाली नेता भएकोले उनीहरुलाई घरमै नजरबन्द गरिएको जनाइएको छ ।