चीन भ्रमणबारे ओलीले सरकारलाई जानकारी नदिएको आरोप

चीन भ्रमणबारे ओलीले सरकारलाई जानकारी नदिएको आरोप


पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई जानकारी नदिइ चीनको स्वशासित प्रदेश तिब्बतको भ्रमण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सामान्यत: पूर्वप्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारलाई जानकारी गराउनु पर्ने हुन्छ । तिब्बतको प्रसिद्ध तीर्थस्थल मानसरोबर घुमेर एक सातापछि शुक्रबार स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले भ्रमणमा जानु अघि आफूले सरकारलाई जानकारी गराएको बताएका थिए ।

ओलीको तिब्बत भ्रमणबारे प्रधानमन्त्री देउवाले परराष्ट्रसँग चासो राखेपछि ओलीले पूर्व जानकारी नदिएको ब्रिफिङ गरेको हो । परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासँग समन्वय गरेर तिब्बत गएको पूर्वप्रधानमन्त्री ओलीको भनाइ बाहिर आएपछि परराष्ट्र मन्त्रालयले जानकारी नभएको ब्रिफिङ प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको हो ।

प्रधानमन्त्री कार्यालयले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको तिब्बत भ्रमणबारे परराष्ट्र मन्त्रालयसँग सोधेको थियो । परराष्ट्र मन्त्रालयले ओलीले भ्रमणमा जानुअघि कुनै जानकारी नदिएको बताएको प्रधानमन्त्री कार्यालय स्रोतले पनि पुष्टी गरेको छ।

नेपाल फर्किएपछि ओलीले तिब्बत भ्रमणका क्रममा आफूले तिब्बत जनसरकार प्रमुख, जनकांग्रेसका प्रमुख र पार्टीका उपप्रमसखसँग भेटवार्ता गरेको बताएका थिए । तिब्बतबाट फर्किएका ओलीले उत्तरतिर पूर्वदेखि पश्चिमसम्म चीनसँग जोडिएको नेपालको १४ सय किलोमिटर भूभाग तिब्बत क्षेत्रमा पर्ने भएकाले सीमा नाका खोल्ने विषयमा छलफल भएको बताएका थिए ।

ओलीले उत्तरतर्फका सीमा नाका खोल्न तिब्बत तयार रहेको र नेपालले पनि तिब्बतसँग यसबारे आधिकारिक रुपमा पत्राचार गर्नुपर्ने बताएका थिए । ओलीले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्ने विषयमा पनि गम्भीर छलफल भएको बताएका थिए ।