डाँडाकाँडा हरियाली हुँदा
लालीगुराँस पाखापखेरामा ढकमक्क फुल्दा
कोइली चरीको ‘को हो – को हो ?’ को
मधुर आवाज खोइ ?
यो समय वसन्त उत्सवको हुनुपथ्र्यो
वनैभरि चरीको मधुर चिरबिर खोइ ?
मान्छेमा विचारको उत्साह खोइ ?
चौतारीमा सिउर उचाल्दै
थरी-थरीका छेपाराहरू भेला भएका छन्
त्यसैले यसलाई भन्न सकिन्छ –
यो समय त छेपारे महोत्सव मात्र हो ।
राता, पहेँला, काला, छिरबिरे वर्णका छेपाराहरू
समय अनुकूल बुझेर रङ्ग फेर्दै सिउर उचाल्दै
जगमगाइरहेछन्
रूख र कौसी चढेर
उत्सव मानेर सिउर उचाल्नु त छेपारा जातिको
आदिम-कालदेखिकै नियति नै हो नि ।
विगतदेखि नै यो जगत त
छेपाराको नौटंकी मञ्च नै हो,
वर्तमान दुभाग्यको अवस्थामा
छेपारेहरूको महोत्सव चुलिएको छ ।
खण्डहर बनेको छ – विश्वास
आस्थामा अविश्वासको गहिरो खाडल छ,
त्यसैले,
कौसी-चौतारीहरूमा उधुमसँग
महोत्सव मनाइरहेछन् – छेपाराहरू ।
– मध्यपुर थिमी-१७, सानोठिमी, भक्तपुर
प्रतिक्रिया