शेल कम्पनी खडा गरी बैंकको कर्जा दुरुपयोग, पाण्डे पक्राउ

शेल कम्पनी खडा गरी बैंकको कर्जा दुरुपयोग, पाण्डे पक्राउ


कृत्रिम व्यवसाय खडा गरी बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई नियन्त्रणमा लिएकाो छ । उनलाई बुधबाार (२० जेठ) धनुषाबाट पक्राउ गरिएको हो ।

सीआईबीले जनाएअनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरेका थिए । उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदनबिना नै धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराइ प्रभु बैंकबाट कर्जा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पाण्डेले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, सो कार्यमा नलगाई अन्यत्र प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार उनको यो कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर हो।

जानकी मेडिकल कलेज जनकपुरका अध्यक्षसमेत रहेका कामनपा–९ रातोपुलनिवासी पाण्डे रामजानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त शेल कम्पनीका एकल सञ्चालक हुन् ।

उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो ।