मस्जिदमा आत्मघाती हमला

मस्जिदमा आत्मघाती हमला


अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको छ । हमलामा परी टनास्थलमै १५ जनाको ज्यान गएको थियो भने बुधबार विहानसम्म मारिएका व्यक्तिको सङ्ख्या २९ पुगेको सिन्ह्वाले जनाएको छ ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकद्वारा प्रकाशित विज्ञप्तिमा सो आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिय हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिएका छन् ।

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो– सो विज्ञप्तिमा भनिएको छ । यस हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिनपछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको ज्यान लिइएको छ । उक्त दूतसमा भएको हमलामा परी दुई जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो । दूताबासका अरु केही कर्मचारी घाइते भएका छन ।

हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन । त्यस्तै महिला र बृद्धबृद्धाहरका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरुले देखाएका थिए ।

सो हमलामा परी अरु कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन । घाइतेमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । हमलामा दुई जना आत्मघाती हमलाकारीको हात रहेको छ । हमलाकारीमध्येका एकजनाको आफैले विस्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो ।